पर्वतको महाशिलाले पशुपालकलाई साढे ३१ लाख रुपैया अनुदान दिँदै - News site from Nepal

पर्वत, २० वैशाख ः पशुपालनवाट कृषकसँगै गाउँपालिकालाई नै आत्मनिर्भर बनाउने उद्धेश्यले पर्वतको महाशिला गाउँपालिकाले पशुपालक कृषकलाई अनुदान वितरणको कार्यक्रम ल्याएको छ ।

महाशिला गाउँपालिका र हेफर इन्टरनेशनल नेपालको साझेदारीमा किसानसँग महाशिला कृषि कार्यक्रम अन्तर्गत रु. ३१ लाख ५० हजार रुपैया अनुदान वितरण गर्न थालिएको हो । यो अनुदान पालिकाका ६ वटै वडामा व्यावसायिक वा निर्वाहमुखि रुपमा पशुपालन गर्ने सवै कृषकलाई वितरण गरिने भएको छ ।

पालिकाले व्यावसायिक पाख्रापालन गर्ने कृषक गाईगोरु, भैसी पालन गर्ने कृषकलाई उक्त अनुदान दिने भएको छ । चालु आर्थिक वर्षमा बिनीयोजन भएको उक्त बजेटवाट एक सय जना वाख्रापालन गर्ने कृषकलाई खोर सुधारका लागि रु. २५ लाख रुपैया वितरण गर्ने भएको छ ।

प्रति कृषक रु. २५ हजार रुपैयाको दरले वितरण गरिने महाशिला गाउँपलिकाका अध्यक्ष इश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो । अनुदान लिने कृषकले कम्तिमा पाँचवटा माउबाख्रा पालेको हुनुपर्ने प्रावधान राखिएको भुसालले बताउनुभयो । यस्तो अनुदान पालिकाभित्रका ६ वटै वडामा रहेका पुशपालन गर्ने निजि फार्म, कृषक समुह, सहकारी वा साझेदारी फार्म जुनसुकै भएपनि हुने उहाँले बताउनुभयो ।

त्यसैगरी भकारो सुधार कार्यक्रमका लागि रु. ३ लाख ५० हजार रुपैया अनुदान वितरण गरिने भएको छ । गाउँपालिकाभित्रका ५० जना कृषकलाई भकारो सुधारका लागि अनुदान दिन थालिएको हो । प्रति परिवार रु.सात हजार रुपैयाका दरले भकारो सुधारका लागि अनुदान दिईने भएको हो । यसका लागि कृषकले कम्तिमा एक गाई, एक गोरु र एक भैसी गरी कम्तिमा तीनवटा पशुपालन गरेको हुनुपर्ने पालिकाले जनाएको छ ।

त्यस्तै पालिकाभित्रै घाँसको श्रोत केन्द्र स्थापना गर्ने योजना पनि पालिकाले अघि सारेको छ । घाँसको श्रोत केन्द्र पालिकाभित्रको कुनै एउटा वडामा स्थापना गरिने भएको छ । १५ रोपनी क्षेत्रफलमा घाँसको श्रोत केन्द्र बनाउनका लागि रु. एक लाख ५० हजार रुपैया अनुदान दिईने छ । एक ठाउँमा स्थापना गरिएको श्रोत केन्द्रवाट पालिकाका ६ वटै वडामा घाँसको विऊ र विरुवा विस्तार गरिने भएको छ ।
पालिकाभित्र रहेको विभिन्न २८ वटा कृषक समुहलाई घाँसको विउ र विरुवा वितरण गर्नका लागि पनि पालिकाले अनुदान दिने भएको छ । चालु आर्थिक वर्षमा रु. एक लाख ५० हजार रुपैया विऊ तथा विरुवा वितरणका लागि अनुदान दिन थालिएको अध्यक्ष भुसालले जानकारी दिनुभयो ।

अनुदान लिनका लागि कृषक, सहकारी वा साझेदारी फार्मले पन्ध्र दिन भित्र संस्था वा फार्म दर्ताको प्रमाणपत्र, नागरिकता, निवेदन, जग्गाको लालपुर्जा जस्ता कागजातहरु पालिकाको पशु सेवा शाखामा पेश गर्न अनुरोध गरिएको छ । यस्तो अनुदानमुलक कार्यक्रमले कृषकहरुलाई व्यावसायिक रुपमा पशुपालनतर्फ आकर्षित गर्ने विश्वास लिएको अध्यक्ष भुसालले बताउनुभयो ।
पालिकाले केहि वर्ष अघिदेखिनै कृषकहरुलाई मासु र दुध उत्पादनमा पनि अनुदान दिँदै आएको छ । यसले निर्वाहमुखि रुपमा पशुपालन गर्दै आएका कृषकहरुले उन्नत जातका गाईभैसी पाल्नुका साथै उनिहरुको आयस्तरमा समेत बृद्धि भएको भुसालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!