बाढीले बगाएको पुल तत्काल निर्माण गर्न मन्त्री गिरीको निर्देशन - News site from Nepal

पर्वत, १७ असार ः गत असार पाँच गते राती आएको बाढीले बगाएको राष्ट्रिय गौरवको आयोजना उत्तर-दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर अन्तर्गत लमाएखोलाको पुल तत्काल निर्माण गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले निर्देशन दिनुभएको छ ।

गृहजिल्ला पर्वत आएको बेला निर्माणाधीन पुलको निरीक्षण गर्दै वर्खायाममा ढलानकार्य थाल्नु गलत भएको भन्दै वर्षायाम रोकिएलगत्तै पुरा गर्न दिर्नेशन दिनुभएको हो । मन्त्री गिरीले ठेकेदार कम्पनी तथा कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका प्रतिनिधिहरुलाई छिटो काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।

मन्त्री गिरीले पुलसहित त्यस सडकखण्डको अवस्थाका बारेमा पनि जानकारी लिनुभएको थियो । र्वतको फलेवास नगरपालिका-६ देवीस्थान र वडा नं. १० कुर्घा जोड्ने गरी निर्माणाधीन पुल निर्माणको अन्तिम चरणमा रहेका बेला बाढीले बगाएको हो ।

पुलको अवलोकन गर्न पुगेका मन्त्रीसँग स्थानीयले पुलको निर्माण यथाशक्य छिटो शुरु गरेर पर्वतको दक्षिणी क्षेत्रलाई सदरमुकाम कुश्मासँग जोड्ने सहज बाटो निर्माणका लागि पहल गरिदिन आग्रह गरेका थिए । निर्धारित समयमा काम नै पूरा नभई लामो समयदेखि अलपत्र परेको पुलको काम अन्तिम चरणमा पुगेका बेला बाढीले तयार भएका संरचना नै बगाएपछि स्थानीय निरास बनेका छन् ।

आयोजना कार्यालयका इन्जिनियर सुरेन्द्र गौतम, ठेकेदार कम्पनीका प्रतिनिधि दिनेश थापासहित फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारी, उपप्रमुख शोभा क्षेत्री, दुईवटा वडाका वडाध्यक्ष र स्थानीयसहितको भेलामा मन्त्री गिरीले अन्य समयमा काम नगरी बस्ने अनि बर्खाको वेलामा काम गर्ने ठेकेदार कम्पनीको गलत नियत भएको बताउनुभयो ।

मौसम ठिक भएको समयमा काम नगरेर बर्खा लागेपछि खोलामा लगेर ‘सर्टिङ’ र ढलानको काम गर्नु भनेको खोलासँग क्षति गराउन खोजेकै भएको ठहर गर्दै पुल निर्माणमा समस्या भएमा आवश्यक सहकार्य गर्न आग्रह गर्नुभयो ।

पुलको दुवैतर्फको संरचना निर्माण पूरा गरेर ‘स्लाब’ ढलानको तयारीमा रहेको पुलका सबै निर्माण सामाग्रीहरू बाढीले बगाएको थियो । बाढीले निर्माण स्थलमा रहेको सयौँ बोरा सिमेन्ट, बालुवा, रड, फर्मा, पाइप, र अन्य टेवा सामाग्रीहरू पुरै बगाएको निर्माण कम्पनी नयाँ बाटो गौचन जेभीका प्रतिनिधि दिनेश थापा मगरले बताउनुभयो । यसबाट करिब रु.डेढ करोड रुपैयाँ बराबरको क्षति भएको दावी निर्माण कम्पनीले गरेको छ ।

यो पुल २ वर्षमा सम्पन्न हुने गरी २०७४ असार २८ गते सम्झौता भई २०७५ पुस १९ गतेदेखि निर्माण कार्य शुरु भएको थियो तर अहिलेसम्म जम्मा ६० प्रतिशत मात्र काम भएको छ । रु.५ करोड ८९ लाख ८९ हजार २७७ रुपैयाँको लागतमा बन्ने पुल निर्माणको जिम्मा नयाँ बाटो गौचन जेभी निर्माण कम्पनीले पाएको थियो । तर उक्त कम्पनीले सहायक ठेकेदार दिपज्योती निर्माण सेवालाई जिम्मा लगाएको थियो । २५ मिटर लामो र ११ मिटर चौडाको पुल निर्माण सम्पन्न नहुँदा कालीगण्डकी लोक मार्गमा सीधा यातायात सञ्चालन हुन सकेको छैन ।

पुल निर्माणका लागि चौथो पटक थप गरिएको म्याद आगामी असोज मसान्तसम्म रहेको छ । आयोजना कार्यालयका इन्जिनियर सुरेन्द्र गौतमले अहिले क्षति नभएको भए निर्धारित समयमै सकिने थियो अब केहि समय थप गरेर भएपनि आगामी मंसिरभित्र पुल निर्माण गराइसक्ने दावी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!