पर्वत १९ वैशाख – दक्षिण पर्वतको पैंयुँ गाउँपालिकाले प्रथम आवधिक योजना बनाउने भएको छ ।
संघीयता कार्यान्वयन भई स्थानीय तह बनेको ९ वर्ष लामो अवधिपछि पहिलोपटक आवधिक योजना तर्जुमागर्न थालिएको हो । आगामी पाँच वर्षभित्र गाउँपालिकालाई समृद्ध र दिगो विकासमैत्री बनाउने उद्देश्यकासाथ पाँच वर्षे आवधिक योजना बनाउन सुरु गरिएको पालिकाले जनाएको छ ।
गाउँपालिकाको समग्र विकास गर्नुका साथै आर्थिक, सामाजिक, भौतिक, वातावरण तथा विपद्, संस्थागत विकास तथा सुशासन लगायतको क्षेत्रमा गरिने विकासको आधार तय गर्नेगरी आवधिक योजना बनाउन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत इन्जिनियर राजिव रिमालले जानकारी दिनुभयो ।
आवधिक योजना निर्माणका लागि पालिकाले दुई दिने बृहद गोष्ठिको आयोजना गरेको छ । वैशाख २१ र २२ गते दर्शनीय गोष्ठिको आयोजना गरी पालिका भित्रका सम्भावित आयोजना र कार्यक्रमका विषयमा घनिभुत छलफल गरिने प्रमुख प्रशासकिय अधिकृत रिमालले बताउनुभयो । पालिकाभित्रका सवै सरोकारवाला र विज्ञहरुका रायसुझाव संकलन गरि सोहि आधारमा आवधिक योजनालाई मुर्त रुप दिईने भएको छ ।
छलफलका लागि त्यस क्षेत्रवाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद, गाउँपालिकाका सवै जनप्रतिनिधिहरु, पुर्व जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पालिका अन्तर्गत सवै कार्यालय र शाखाका प्रमुखहरु, सवै विद्यालयका प्रद्यानाध्यापकहरु, उद्योगी, व्यावसायी, गैरसरकारी संघसंस्थाका प्रमुख, पत्रकार तथा बुद्धिजिविहरुलाई आमन्त्रण गरिएको रिमालले बताउनुभयो ।
पैंयुँ गाउँपालिका वडा नं. ४ को सभाहलमा हुने कार्यक्रममा विभिन्न विषयविज्ञहरुद्धारा आवधिक योजनाको महत्व र औचित्यवारे प्रस्तुतीहरु समेत राखिने भएको छ ।
अहिलेसम्म संचालित बार्षिक योजना र कार्यक्रमले मात्र गाउँपालिका र यहाँका नागरिकले अपेक्षा गरे अनुसारको विकास र परिवर्तन हुन नसकेपछि पहिलोपटक आवधिक योजना निर्माण गरेर दिर्घकालीन विकासको खाका कोर्न थालिएको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिनुभयो । आगामी आर्थिक वर्षदेखिनै कार्यान्वयनमा आउनेगरी योजना निर्माण गर्ने तयारी भएको उहाँको भनाई छ ।
अध्यक्ष ठकुरीले स्वदेश र विदेशमा रहेकाहरुले पनि विभिन्न माध्यमवाट आवधिक योजना निर्माण कार्यमा राय सुझाव दिन आग्रह गर्नुभएको छ । पुर्वाधार, कृषि, पर्यटन, पशुपालन, स्वरोजगार मुलक उद्यम ब्यावसायहरुको विकास, शिक्षा, स्वास्थ्य क्षेत्रका लगानीका सम्भावना लगायका विषयलाई केन्द्रीत गरेर योजना निर्माण गरिने अध्यक्ष ठकुरीले बताउनुभयो ।







