पर्वत- पर्वतका ग्रामीण बस्तीहरु प्राय खाली हुँदै गईरहेका छन् । हरेक वस्तीमा पुग्दा घरमा बृद्ध, बृद्धा बाहेक कोहि भेटिदैनन् । युवा पुस्ता शुन्यप्राय देखिन्छ ।
तीनै बृद्धबृद्धा र आफ्ना मतदाताहरुको अवस्था बुझ्नका लागि प्रतिनिधि सभामा दोस्रो कार्यकालका लागि निर्वाचित भएको एक वर्ष पछि सांसद एवम् एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरी यतिवेला पर्वतका विभिन्न बस्तीमा पुगिरहनुभएको छ ।
निर्वाचन जितेपछि सांसद तथा नेताहरु गाउँ फर्कदैनन्, जनताको गुनासो सुन्दैनन् भन्ने आरोपलाई चिर्न एक साताको समय निकालेर सांसद गिरी जिल्लाका सातवटै पालिकाका विभिन्न बस्तीमा पुग्दै हुनुहुन्छ । अधिकांस बस्तीमा सांसद पुग्दा गाउँलेका दुईवटा साझा माग छन् । ती हुन् सडकको स्तरोन्नती र बाँदर नियन्त्रण ।
संसद संचालन नभएको मौका छोपेर बुधवारदेखि मोदी गाउँपालिकाको वडा नं. १ भुकताङ्लेवाट शुरु भएको अभियान अन्तर्गत जुनसुकै बस्तीमा पुगेपनि साँझा मागका रुपमा दुईवटा मात्रै माग बढि देखिएको छ । २०७४ सालको निर्वाचन अघि आफु निर्वाचित भएपछि जिल्लाका ६१ वटै वडा कार्यालयसम्म कालोपत्रे सडक पुर्याउने प्रतिवद्धता गर्नुभएका गिरीलाई अहिले मतदाताहरले उक्त विषय समेत सम्झाईरहेका छन् । यो खबर आजको धौलागिरि सञ्चार साप्ताहिकमा छ ।
गाउँमा युवा पुस्ताको संख्या निकै न्यून छ । खेतीयोग्य जमिन पुरै बन र बुटयानले भरिएको छ । निर्वाहमुखि रुपमा गरिएको धान, मकै, गहुँ, जौ लगायतका फलफुल खेती समेत बाँदरले सखाप पारेपछि गाउँमा बसिसक्नु भैरहेको छैन ।
मोदी गाउँपालिका वडा नं. ३ घुरुङ्गाका गमबहादुर पुनले सडक असुविधाकै कारण गाउँ छाड्नेको संख्या दिन प्रतिदिन बढेको बताउनुभयो । गाउँबाट बजार निस्किँदा बेलुका फर्किने हो कि हैन भन्ने निश्चित नभएको बताउँदै यति सडक मर्मत हुने र बाँदर नियन्त्रणको कुनै उपाय भए गाउँ छाड्नेको संख्या घट्ने बताउनुभयो । ५२ घरधुरी रहेको यो गाउँमा अहिले मुस्किलले २५ घरमा मात्र बसोबास रहेको छ । यहाँका विद्यार्थी कक्षा ६ देखि १० सम्म अध्ययन गर्न सोहि वडाको पुणर्गाउँमा पुग्न झण्डै तीन घण्टा पैदल हिड्नुपर्ने बाध्यता छ ।
घुरुङ्गा मात्र हैन सोहि वडाको लाङ्दी, जयले, घुरुङ्गसेरा, लगायतका बस्तीका बासिन्दाको माग पनि उहि रहेको छ । सांसद गिरी मोदी गाउँपालिकाकै वडा नं. ५ बाजुङमा पुग्दा गाउँलेहरुले आक्रोसित हुँदै भने -‘यो सडक कहिले कालोपत्रे हुन्छ ?’ यदि कालोपत्रे नगर्ने वा स्तरोन्नती नहुने हो भने अब नेताहरुलाई गाउँ आउन दिँदैनौ । मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा-बागलुङ सडकको पातीचौरवाट ग्रामीण सडकतर्फ लागेपछि सुस्केरा हाल्दै गाउँसम्म पुग्नुपर्ने अवस्था छ । जुनसुकै नेतालाई जिताएपनि गाउँको समस्या ज्यूँ का त्यूँ रहेको भन्दै उनिहरुले आफ्ुना र चुनावका बाचा पुरा गर्न आग्रह गरेका छन् । यो खबर आजको धौलागिरि सञ्चार साप्ताहिकमा छ ।
यस वाहेक स्थानीय महिलाहरुले आमा समुहको साझा सभाहल र भवन, स्वास्थ्य संस्थामा गुणस्तरीय उपचार सुविधा, विद्यालयमा गुणस्तरीय शिक्षक, खानेपानी र सिंचाईका माग समेत राखिरहेका छन् ।
फलेवासको लिमठाना, ठानामौला र भँगराका बासिन्दाको माग पनि यस्तै छ । गुणस्तरीय सडक, बाँदर नियन्त्रण, उत्पादित कृषियोग्य बस्तुको सहज बजारीकरणमा पहल गरिदिन उनिहरुले माग गरेका छन् । भँगराका बासिन्दाले थापाठानदेखि भँगरासम्मको सडक कालोपत्रे भैदिएमा सहज हुने माग राखेको सांसद गिरीका सोकिय सचिब दिलिप पौडेलले जानकारी दिनुभयो । यसैगरी जलजलाको शालिजा, लेखफाँट, नाङलीवाङ र धाईरिङ्गका बासिन्दाले पनि गाउँसम्म पुग्ने मुख्य सडक कालोपत्रे गर्ने माग तेर्साएका छन् । युवाहरुलाई पलायनवाट रोक्न उचित निति ल्याउनुपर्ने पनि गाउँलेहरुको माग रहेको छ ।
मोदीवाट शुरु भएको अभियान जिल्लाको फलेवास नगरपालिका र जलजला गाउँपालिकामा सकिएको छ भने आइतवारदेखि महाशिला, पैंयु र विहादीका बस्तीतर्फ लागेको सांसद गिरीले बताउनुभयो । हरेक वडामा कृषकका एउटै खालका माग रहेको उहाँको भनाई छ ।सवैभन्दा ठुलो समस्या सडकको हो । भने अर्को बाँदरको । यि दुवै कुरा पुरा भैदिएमा गाउँवासीको जीवनयापन केहि सहज हुने माग स्थानीयको छ ।
सांसदसँग जनता कार्यक्रम लिएर गाउँ पुग्दा ठाउँठाउँमा हुने भेटघाट तथा छलफलमा प्रतिनिधि सभा सदस्य गिरीले नेकपा एमाले नेतृत्वको पालामा शुरुवात गरेको थुप्रै सडक आयोजनाहरु पछिल्लो काँग्रेस र एमाले नेतृत्वको सरकारले कटौती गरेको भन्दै आफुले गरेका सवै वाचाहरु पुरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले टेण्डर भैसकेको पातीचौ-देउपुर-देउराली-घुरुङ्गा सडकको बजेट कटौती भएकोले आगामी वजेटमा यो योजनालाई समावेश गर्न पहल गर्ने बताउनुभयो । बाँदर नियन्त्रणको सम्वन्धमा उचित निति बनाउनका लागि पहल गर्ने उहाँको आश्वासन छ । यो खबर आजको धौलागिरि सञ्चार साप्ताहिकमा छ ।
मुलुकमा देखिएको कोरोना संक्रमण र त्यसपछिको चरम आर्थिक मन्दिका कारण पनि सोचेअनुरुप काम हुन नसकेको बताउँदै पर्वतवासीका समस्या समाधान गर्न आफु हरसमय सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।






