काठमाडौँ – कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन पक्षका सदस्यले नै सभापति शेरबहादुर देउवामाथि सच्चिएर अघि बढ्न दबाब दिएका छन् । विगतमा सभापति देउवाका लागि रक्षात्मक रूपमा प्रस्तुत हुने सदस्यहरूले नै यस पटक उनलाई कार्यशैली सुधारेर पार्टीलाई मतदाताको भावनाअनुरूप अघि बढाउन दबाब दिएका हुन् । गत बिहीबारदेखि सुरु कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उनीहरूले मन्त्रीका भूमिकामाथि समेत प्रश्न उठाएका छन् ।
आइतबार बैठकमा धारणा राख्ने ३१ जनामध्ये सबैजसो संस्थापन पक्षका सदस्य थिए । अधिकांशले पार्टी नेतृत्वले पुरानै ढर्राको कार्यशैलीमा सुधार नगरे वर्तमान राजनीतिक/सामाजिक मुद्दाको समाधान र मुलुकको आर्थिक संकटमोचन गर्न नसक्ने धारणा राखे । सभापति देउवाले सत्तालाई मात्रै केन्द्रमा राखेर सरकारको कार्यसम्पादनमा भन्दा गठबन्धनलाई बचाउन मात्रै जोडबल गरेको उनीहरूको आरोप छ । नयाँ खुलेका दलहरूले दबाब बढाइरहेका बेला कांग्रेसले कुर्सीलाई केन्द्रमा राखेर जनकांक्षालाई बेवास्ता गर्दा थप संकटमा पर्ने सदस्यहरूको धारणा थियो ।
केन्द्रीय सदस्य राजीव ढुंगानाले सरकारमा रहेर कांग्रेसलाई ‘जस’ भन्दा धेरै ‘अपजस’ आइरहेकाले निर्मम भएर समीक्षा गर्नुपर्ने औंल्याए । ‘प्रधानमन्त्री कांग्रेसको होइन तर यो सरकारको मूल नेतृत्वकर्ता कांग्रेस नै हो । यतिबेला जनताले कांग्रेसतिर हेरिरहेका छन्,’ ढुंगानाले भने, ‘सरकारले के गर्दै छ ? हाम्रा मन्त्रीले के गर्दै छन् ? पार्टीले निर्मम भएर समीक्षा गर्नु आवश्यक छ ।’
एक, दुईवटा राम्रा कामको जस प्रधानमन्त्रीले लिने र नराम्रो जति सबै कांग्रेसको भागमा आइलाग्ने परिस्थिति रहेको भन्दै उनले सरकारमा कहिलेसम्म रहिराख्ने भनेर सोच्ने बेला आएको बताए । ‘चाडबाडको मुखमा महँगी बढेको बढ्यै छ, उपभोक्ताले सरकार भेटेका छैनन् । सरकारले भ्रष्टाचारको एक/दुईवटा फाइल खोल्यो तर जनताले भ्रष्टाचार घटेको आभास पाएका छैनन्,’ उनले भने, ‘अर्थतन्त्र झन् अस्तव्यस्त छ । बैंकहरू मोटाएको मोटायै छन् । तर बैंकबाट ऋण लिएर व्यवसाय गर्नेहरू सटर बन्द गरेर हिँड्नुपर्ने बाध्यतामा छन्, यस्तोमा हामी कहिलेसम्म रमिते बन्ने ?’
अर्का केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले नेतृत्वले गठबन्धनको सरकार जोगाउनुलाई मात्रै सबै कुरा ठान्नु गलत हुने बताए । ‘सरकारमा बसेपछि कि जनविश्वास बढाउने गरी डेलिभेरी दिनुपर्छ, नभए गठबन्धन मात्रै सबै कुरा होइन,’ पौडेलले भने, ‘कांग्रेसकै मन्त्रीहरूले पनि एउटै त्यस्तो काम गर्नुभएको छैन, जसलाई हामीले जनतामाझ गएर कांग्रेसले सरकारमा गएर यस्तो गर्यो भनेर प्रचार गर्न सकौं ।’ पौडेलले पार्टीकै मन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको भए पनि मुलुकको अर्थतन्त्र डामाडोल हुँदा केही गर्न नसकेको भन्दै आलोचना गरे । ‘अर्थतन्त्रमा सुधार आएको छैन, साना व्यवसायी सटर बन्द गरेर हिँड्न बाध्य छन् । बैंकमा पैसा थन्किएर पनि लगानी गर्न नसक्नु ठूलो समस्या हो,’ उनले भने ।
पौडेलले सरकारले बेरोजगारी र युवा पलायनलाई रोक्ने योजना तत्काल अघि नसारे देश रित्तै हुने दिन नजिकिएको बताए । ‘गएको वर्ष ९ लाख युवा विदेसिए, यो बढ्दो क्रममा छ । यदि हामीले यसलाई नरोक्ने हो भने एक दिन यो देश रित्तै हुन्छ,’ उनले थपे, ‘पार्टीको सरकार हुँदा युवा पलायनलाई रोक्ने योजना ल्याउनुपर्यो । अर्थतन्त्रलाई चलायमान बनाएर रोजगारी सिर्जना गर्नुपर्यो ।’
बैठकमा देउवाकै सहयात्रीहरू आनन्दप्रसाद ढुंगाना र अर्जुनप्रसाद जोशीले पनि पार्टीले कार्यशैली बदल्नुपर्ने र जनतामा विश्वास बढाउनुपर्ने सुझाव राखे । ‘कांग्रेस नेपालका हरेक परिवर्तनको नेतृत्वकर्ता हो । देशमा गणतन्त्र ल्याउने बेलासम्म ठूलो संघर्ष छ,’ नेता ढुंगानाले भने, ‘तर अहिले त्यही गणतन्त्रमाथि जोखिम बढेर गएको छ, पार्टीले बेलैमा सजगता नअपनाए पछुताउनुको विकल्प रहने छैन ।’
अर्का केन्द्रीय सदस्य एवम् सांसद विनोद चौधरीले अब पुरानो ढर्राको नेतृत्वले नयाँ पुस्ताका मतदाताको आकांक्षाअनुरूपको नेतृत्व गर्न नसक्ने बताए । पार्टीले देशको नेतृत्व गर्दैगर्दा आगामी १० वर्षपछि देशलाई कहाँ पुर्याउने भनेर विकासको स्पष्ट खाका प्रस्तुत गर्नुपर्ने उनको माग छ । चौधरीले अब जेलनेल भोग्नुलाई मात्रै पार्टीमा अवसरको मापदण्ड बनाउनु गलत हुने बताए ।
‘अबको निर्वाचनमा २० लाख मतदाता थपिँदै छन् । सर्वोच्च अदालतको निर्देशनअनुसार प्रवासी नेपालीलाई पनि समेट्दासम्म यो संख्या झन्डै ५० लाख पुग्छ,’ चौधरीले भने, ‘नयाँ सोच र दृष्टिकोण बोकेका जमातलाई समेट्ने गरी नेतृत्वको रणनीति हुनुपर्छ ।’ चौधरीले कांग्रेस बैठकमा देशको अर्थतन्त्र कसरी माथि पुर्याउने भनेर कहिल्यै बहस नभएको टिप्पणी गर्दै भने, ‘अब राजनीतिक एजेन्डामा मात्रै छलफल गरेर जनमत बटुल्न सकिँदैन ।’
गण्डकीका मुख्यमन्त्रीसमेत रहेका सदस्य सुरेन्द्रराज पाण्डेले संघीयता मजबुत बनाउने विषयलाई पार्टीले प्राथमिकतामा नराखेको गुनासो गरे । संघीय संविधान जारी गरेर पनि वर्तमान राजनीतिक नेतृत्व संघीयता बलियो हुने गरी कानुन निर्माण गर्न तयार नरहेको उनको आरोप थियो । ‘जनताको घर–घरमा सिंहदरबार पुर्याउँछौं भनियो । तर संविधान र संघीयताको मर्मबमोजिम कानुनहरू बनेनन्,’ पाण्डेले भने, ‘अझै पनि राजनीतिक नेतृत्वले संघीयता बलियो हुने गरी कानुन बनाउन रुचि राखेको देखिँदैन । यदि प्रदेश सरकारप्रति विश्वास जगाउने र संघीयतालाई बलियो बनाउने हो भने तत्काल प्रहरी समायोजन र संघीय निजामती ऐन जारी हुनुपर्छ, प्रदेश सरकारलाई जग्गा प्राप्तिको अधिकार दिनुपर्छ ।’
केन्द्रीय सदस्य रामजनम चौधरीले सरकारले समयमा अर्थतन्त्र सुधार गर्न नसकेको भन्दै पार्टीले अर्थमन्त्रीलाई विशेष निर्देशन दिनुपर्ने माग गरे । ‘पार्टी सरकारमा छ, गठबन्धन छ, प्रदेशमा पनि गठबन्धनकै सरकार छ । तर कार्यकर्तामा उत्साह छैन,’ उनले भने, ‘पार्टीले सरकारलाई कि डेलिभेरी दिन भन्न सक्नुपर्छ, कि सरकारबाट हात झिक्नुपर्छ ।’ अर्का केन्द्रीय सदस्य रंगमती शाहीले पार्टीका वडादेखि केन्द्रसम्म पार्टीका जनप्रतिनिधिले जनताप्रति उत्तरदायी भएर काम नगरेको गुनासो पोखिन् । केन्द्रीय सदस्य हरिशरण नेपालीले पार्टी र जनताका बीचमा ठूलो खाडल रहेको टिप्पणी गर्दै थपे, ‘त्यसलाई बढाएको पार्टी र जनप्रतिनिधिबीचको दूरीले हो । पार्टीले वडाध्यक्ष, नगर प्रमुखदेखि मुख्यमन्त्री र मन्त्रीहरूलाई पनि लगाम लगाउन सक्नुपर्छ ।’
केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले सरकारसँग जनता निराश रहेको बताए । त्यस्तै अर्का सदस्य गोविन्दराज भट्टराईले लोकप्रियतावादीबाट वर्तमान संविधान र लोकतान्त्रिक गणतन्त्रलाई खतरा बढेको बताए । ‘एउटा आउँछ, टुँडिखेलमा लगेर नेताहरूलाई राउन्ड किक हान्छु भन्छ, अर्को आउँछ, सिंहदरबारमा आगो लगाउँछु भन्छ । अर्को एउटा धार्मिक अतिवादी कुरा गरेर समाज भड्काइरहेको छ, फेरि सञ्जालमा उनीहरूकै पछाडि भीड खडा छ,’ भट्टराईले भने, ‘यो सबै कुराले देशमा हिंसा भड्काउने काम गरिरहेको छ । हामी बेलैमा सचेत हुनुपर्छ ।’
ekantipur.com