साउदीमा मृत्युदण्ड पाएका पर्वतका सन्तबहादुरको घरमै पुगे महामन्त्री शर्मा - News site from Nepal
साउदीमा मृत्युदण्ड पाएका पर्वतका सन्तबहादुरको घरमै पुगे महामन्त्री शर्मा
  • पिडित परिवारको परिपुरणका लागि पहल गर्ने प्रतिवद्धता
  • रोशन तिवारी
    पर्वत, ३ पुस ः नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पर्वतको मोदी गाउँपालिका ४ खुईजरी घर भई बैदेशिक रोजगारीका क्रममा साउदी अरवमा मृत्युदण्ड पाएका सन्तबहादुर पुनको परिवारलाई भेट्नुभएको छ ।
    गत जेठ १८ गते मृत्युदण्ड पाएका सन्तबहादुरको परिवारलाई भेटेर शर्माले परिवारको परिपुरणको लागि राज्यको तर्फबाट आवश्यक सहयोगका लागि पहल गर्ने बताउनुभयो । पिडितको घर रहेको खुईजरीमा पुग्नुभएका शर्माले सन्तबहादुरका जेठा छोरा शिव पुन र उहाँको परिवारलाई भेटेर आफु यो घटनाले दुखी भएको भन्दै राज्यको तर्फबाट आवश्यक सहयोग गर्न पहल गर्ने बताउनुभएको हो ।
    शर्माले संसदमा पनि यसबारेमा आवाज उठाउनुभएको थियो । म्याग्दीमा पार्टीको कार्यक्रममा सहभागी भएर पर्वत आउनुभएका शर्माले सन्तबहादुरको दुखान्त कथाले आफूलाई सताईरहेको हुनाले घरमै पुगेर परिवारलाई सान्त्वना दिएको बताउनुभएको छ ।
    शर्मा सहित नेपाली काँग्रेसका गण्डकी प्रदेशका सहमहामन्त्री रामचन्द्र जोशी, पूर्व जिल्ला सभापति नवराज गुरुङ लगायतका नेता पनि भेटघाटमा पुग्नुभएको थियो । पुनले २०५८ मा साउदीमा भेडीगोठालो काम गर्नुहुन्थ्यो । साहुका भेडा चराउने क्रममा स्थानीय एक यूवा उदाआएद होमद संधै भेडा माग्न आउँथे । भेडा दिँदा दिँदा हैरान भएपछि एक दिन ति दुई जनाको बिचमा कुटाकुट भयो । कुटाकुट हुँदा दुबैजना घाईते भए । घाईते भएका होमदको मृत्यु भयो । साउदीको कानुन अनुसार मृत्युको बदला पुन लाई त्यहाँको अदालतले मृत्युदण्ड दिएको हो । महामन्त्री शर्माले आफ्नो कामप्रति इमान्दार हुँदा ज्यान गुमाउनुपरेको बताउनुभयो ।
    उहाँ साउदीको जेलमा करिव २२ वर्षसम्म आममाफीको प्रतिक्षामा रहेपनि मृतकको परिवारले मृत्युको बदला मृत्युनै दिने भन्दै आम माफि दिन अस्वीकार गरेपछि मृत्युदण्ड दिईएको थियो । तत्कालिन राष्ट्रपति विद्यादेबी भण्डारीले समेत सन्तबहादुर लाई आममाफी दिन साउदी सरकार लाई कुटनीतिक पत्र पठाउनुभएको थियो ।
    सन्तबहादुरकी श्रीमती श्रीमानको मृत्यु पछि पोखरामा मजदुरी काम गर्दै आउनुभएको छ । जेठा छोरा शिव पुन अपांगता भएर बिस्तारामा सुतिरहनुभएको छ । सामान्य परिवारका सन्तबहादुर बिदेश गएर परिवारको लालनपालन गर्ने योजनामा भएपनि मृत्युदण्ड पाउनुभयो । वडाध्यक्ष नविन चोचाङ्गीका अनुसार सन्तबहादुरको निधन पछि परिवारको विचल्ली भएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 लोकतन्त्र अनलाईन All right reserved
    Site By : Softnagari
    error: Content is protected !!