भ्रष्टाचारमा संलग्न कोही व्यक्ति उम्कन पाउँदैन, ढिलो चाडो कारबाही हुन्छ ः आयुक्त डा. अमात्य - News site from Nepal

पर्वत- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यले भ्रष्टाचारमा संलग्न व्यक्ति उम्कन नपाउने बताउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुन्धान आयोगको कार्यालय पोखराले सोमवार पर्वत सदरमुकाम कुश्माबजारमा आयोजना गरको जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै आयुक्त अमात्यले भ्रष्टाचार ठहर भएको व्यक्ति ढिलो चाँडो कारवाहीको दायरमा ल्याएरै छाडिने बताउनुभयो । उहाँले नीतिगत तहदेखि सामान्य कृषकसम्म पनि भ्रष्टाचार गर्ने संस्कृति मौलाउँदै गएको बताउँदै यसको अन्त्य नभएसमम मुलुकको विकास नहुने बताउनुभयो । अमात्यले भ्रष्टाचार मुलुकको समृद्धि र विकासको सवैभन्दा ठुलो शत्रु रहेको बताउँदै सवै नागरिक सचेत हुनुपर्ने बताउनुभयो ।
सरकारी निकायमा रहेका राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि, निजि क्षेत्र सवैको संलग्नतामा भ्रष्टाचार भैरहेको बताउँदै तीनै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो । सवै नागरिक इमान्दार हुने हो भने अख्तियारको आवश्यकतानै नपर्ने भन्दै अमात्यले ठाउँमा पुग्ने वित्तिकै अनियमितता गरिहाल्ने प्रवृत्ति मौलाएपछि डण्डा लगाउने संस्थाको रुपमा अख्तियार रहेको बताउनुभयो । भ्रष्टाचार सानो या ठुलो होस् यसले मुलुकलाई पुस्तौसम्म असर गर्दछ आयुक्त अमात्यले भन्नुभयो-‘राज्य बरु भाडमा जाओस मेरो व्यक्तिगत जीवन सवल बनाउछु भन्ने मनोवृत्ति हाबी भैरहेको छ ।’ यसको अत्यका लागि अख्तियारले निर्मम भएर काम गरिरहेको बताउनुभयो ।
उहाँले कुनैपनि कार्यालय वा योजनाको बारेमा अख्तियारी पर्‍यो भन्दैमा काम र भुक्तानी नरोक्न समेत आग्रह गर्नुभयो । अख्तियारले आफ्नो प्रकृया अनुसार कारबाहीको दायरमा ल्याउने भन्दै काम नरोक्न उहाँको निर्देशन छ । अख्तियारलाई आवश्यक सुचना र मागेको कागजात र जवाफ समयमै दिएर सहयोग गर्न पनि उहाँको आग्रह रहेको छ ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख अस्मान तामाङले पछिल्लो पाँच वर्ष यता अख्तियारमा उजुरी दिनेको संख्या उल्लेख्य मात्राा बढेको बताउनुभयो । सवैभन्दा बढि उजुरी स्थानीय तहहरुको रहेको भन्दै जनप्रतिनिधिहरुलाई आफ्नो प्रगति देखाउने नाममा अनावश्यक दबाब नदिन समेत आग्रह गर्नुभयो । तामाङका अनुसार अहिले अख्तियार अनुसन्धान आयोगको पोखरा कार्यालयमा पर्वतका ८९ वटा उजुरी रहेको र ति मध्ये ५६ वटा स्थानीय तहकै रहेको जानकारी दिनुभयो । जस मध्ये ३५ वटा फछ्र्यौट भैसकेको र ५२ वटा फछ्र्यौट हुन बाँकी रहेको बताउनुभयो ।
जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले अख्तियारले हरेक पालिकाहरुमा जनचेतना जगाउनुपर्ने बताउँदै अख्तियारमा परेका उजुरीको छानविन र कारबाही प्रकृया समेत तत्काल गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले राज्यका माथिल्लो निकायदेखि तल्लो निकायसम्म भ्रष्टाचार मौलाउनु दुःखद पक्ष भएको बताउँदै यसमा सवै पक्ष जिम्मेवार हुनुको विकल्प नरहेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमा समेत ९ वटा उजुरी परेकोमा ६ वटा कारबाहीका लागि अख्तियारमा पेश भैसकेको र ३ वटा पेश हुन बाँकी रहेको बताउनुभयो ।
कार्यक्रममा नागरिक समाज, कर्मचारी, पत्रकार लगायतले विभिन्न जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!