बरु काँग्रेस सकिन्छ, २०८४ मा गठवन्धन गर्दैन ः महामन्त्री थापा - News site from Nepal

पर्वत- नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आम चुनावमा नेपाली काँग्रेसका कार्यकर्ताले अन्य दलको चुनाव चिन्हमा भोट हाल्न नपर्ने बताएका छन् । दलहरुको गठवन्धनमा लागेर काँग्रेस अस्तव्यस्त बनेको बताउँदै २०८४ सालको चुनावमा नेपाली काँग्रेसले कसैसँग पनि गठवन्धन नगर्ने दावी गरे ।
नेपाली काँग्रेस पर्वत ‘क’ को क्षेत्रीय सम्मेलनलाई आइतवार कुश्माबजारमा सम्वोधन गर्दै थापाले गठवन्धनको संस्कृति नै संविधानवाट हटाउनुपर्ने बताए । उनले चुनाव अघि साना ठुला कुनैपनि दलले गठवन्धन गर्न नपाउनेगरी संविधान संशोधन गर्नुपर्ने बताए । दलहरु एक्लाएक्लै चुनाव लड्दा काँग्रेस, एमाले, माओवादी कोहिपनि डराउनु नपर्ने बताए । उनले गठवन्धनका कारण काँग्रेसको अस्तित्व नै समाप्त हुने बताउँदै थापाले भने, बरु काँग्रेस सकिन्छ तर कुनैसँग पनि गठवन्धन गर्दैन ।
थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सन्तोषजनक काम गर्न नसकेको बताए । उनले काँग्रेसले समर्थन गरेको भएपनि आम नेपालीले आशा र भरोसा गर्नेगरी काम गर्न नसकेको बताए ।
कांग्रेसका सांसदहरुले मत दिएर प्रचण्डलाई प्रधानमन्त्री बनाएको भन्दै उहाँले एक वर्षसम्म काम गर्न नसकेको बताउनुभयो । अब एक वर्ष प्रचण्ड नै प्रधानमन्त्री बन्ने सत्ता गठबन्धनबीच सहमति रहेको भन्दै थापाले यो अवधिमा काम गर्न नसके काँग्रेसले समर्थन फिर्ता लिएर आफ्नो नेतृत्वमा सरकार बनाउनुपर्ने बताए ।
प्रचण्डलाई कुनै साइनो परेर प्रधानमन्त्री बन्न सहयोग गरेको नभई केही काम गर्छन् कि भनेर मत दिएको महामन्त्री थापाले बताए । सरकार गठन भएको एक वर्ष अवधि पुग्न लागेको तर अहिलेसम्म कुनै राम्रो काम गर्‍यो भनेर भन्न नसकिने उहाँको भनाई छ । उहाँले अब एमालेलाई नेतृत्वमा पुर्‍याउन नहुने बताए । केपी ओली नेतृत्वमा पुगे पुन संसद विगठन गर्ने उहाँको दावी छ । महामन्त्री थापाले सरकारमा रहेका कांग्रेसका ९ जना मन्त्रीले पनि राम्रो काम गर्नुपर्ने बताए ।
थापाले जनतालाई सुशासन र भ्रष्टाचार न्यूनीकरण गर्दै निर्मूल पार्ने जिम्मा आएको उनको भनाई छ । ‘भ्रष्टाचारको न्यूनीकरण गर्दै निर्मूल गर्ने र जनतालाई सुशासन दिने नै हो,’ उनले भने, ‘त्यसैले वर्तमानमा कांग्रेसले नागरिकको उत्तर दिने ठाउँमा पुगेको अवस्था छ ।’ महामन्त्री थापाले कांग्रेस सम्मिलित सरकारले सुन तस्करीलाई रोक्ने अवस्थामा ल्याउनुपर्ने बताए । समिति बनाएर त्यसको छानबिन गरेर दोषीलाई कारबाही हुनुपर्नेमा उनको जोड थियो । महामन्त्री थापाले भ्रष्टाचार र कुशासन अन्त्यका लागि कांग्रेस पार्टीभित्रै पनि लड्ने बताए ।
उहाँले काँग्रेसलाई बलियो पार्टी बनाउनका लागि केन्द्रीय नेतृत्वदेखि वडा तहसम्म पुर्नजागरण ल्याउन आवश्यक रहेको बताए । उनले काँग्रेसले अन्य दलहरुले चलाएको जस्तो मिसन २०८४ जस्तो आगामी चुनावका चिन्ता नलिईकन संगठन निर्माणमा जुट्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले नेपाली काँग्रेसलाई मजबुत बनाउनका लागि सक्रिय हुन कार्यकर्ताहरुलाई आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री रामचन्द्र जोशी, जिल्ला सभापति युवराज जोशी, पुर्व सभापति खिमप्रसाद भुसाल, नबराज गुरुङ लगायतले बोल्नुभएको थियो ।
क्षेत्रीय सभापति राजकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत केशवप्रसाद उपाध्याय तथा संचालन चित्रकला शर्मा र सुरेन्द्र केसीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!