पर्वतमा उत्पादन बढेपछि फुल, मालाको मुल्य घट्यो, व्यावसायी चिन्तित - News site from Nepal

पर्वत –  सोमबार दिउँसो पर्वत सदरमुकाम कुश्मा बजारमा डोकोमा फुल विक्रि गर्दै हिड्नुभएकी विष्णुमती नेपाली चिन्तित देखिनुहुन्थ्यो । हात र डोकोभरी सयपत्री फूलका गुच्छा र माला लिएर बजार घुमिरहेकी विष्णुमतीको अनुहार मलिन बनेको थियो । तिहारको दुई दिन अघि डोकोभरी फुल र माला लिएर बिक्रि गर्न हिडेकी नेपालीलाई सोचेजस्तो कमाई नभएपछि चिन्तित बन्नुभएको हो ।
विगत १४ बर्ष देखि फूलको ब्यापार गर्दै आएकी विष्णुमती चर्को चर्को स्वरमा कराउँदै -‘लौ माला आयो, माला आयो’ विष्णुमतीले माला आएको खबर सुनाए पनि बजारमा किन्नेहरु भभने न्यून देखिन्थे । विष्णुमतीका अनुसार अहिले एएटा मालाको मुल्य रु. १ सय ५० रहेको छ ।
प्रत्येक बर्ष फूलको ब्यापार गर्ने विष्णुमतीले गत बर्ष रु.३ सयमा एउटा माला विक्रि गरेको भएपनि अहिले ५० प्रतिशत कमी आएको उहाँले बताउनुभयो । रु.१ सय ५० मा विक्रीका लागि बजार घुमेकी विष्णुमतीले रु.१ सय रुपैंयासम्ममा माला विक्रि गर्नेगरेको बताउनुभयो । गत बर्ष रु.२५ हजारसम्म आम्दानी भएको थियो । उहाँले भन्नुभयो‘यस बर्ष रु.१० हजार पनि आम्दानी होला जस्तो छैन ।’
पर्वतको कुश्मा नगरपालिका वडा न १ खुर्कोटकी बिष्णुमतीले -‘अहिले फूलको ब्यापार गर्नेको संख्या बढेको छ ।’ विष्णुमतीले भने जस्तै पर्वतमा पछिल्लो समयमा फूलको उत्पादन बढेकाले मुल्य घटेको बताउनुभयो ।
ब्यवसायिक रुपमा फूलको ब्यापार गर्नेहरुको संख्या बढेसँगै फूलको ब्यापार घटेको हो । यसले मूल्यमा असर गरेको छ । केहि बर्षपहिलेसम्म अरु जिल्लाबाट फूल निर्यात गर्नुपर्ने कुश्मामा अहिले फूलको उत्पादन बढेसँगै फूलमा पर्वत आत्मनिर्भर भएको उद्योग बाणिज्य संघका गण्डकी प्रदेश उपाध्यक्ष केदारनाथ शर्माले बताउनुभयो ।
जिल्लाको विहादी र पैंयु गाउँपालिकामा पनि व्यावसायिक रुपमा पुष्प व्यावसाय शुरु गरेका छन् । जसले गर्दा बाह्य जिल्ला वा विदेशवाट आयातीत फुल विक्रि गर्नुपर्ने समस्या हटेको शर्माले बताउनुभयो ।
यता नेपालीहरुको महान पर्व तिहारको अवसरमा पर्वतमा फुल तथा फुलजन्य बस्तुहरु आयातमा रोक पनि लगाईएको छ । अन्य समय भन्दा तिहारमा बढि माग हुने फुल बाह्य जिल्ला तथा विदेशवाट समेत आयात हुने र स्थानीय उत्पादनले बजार नपाउने समस्या भएपछि आयातमा रोक लगाईएको हो । जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लामै हुने पुष्प खेती, पुष्प कृषक र पुष्प व्यवसायलाई संरक्षण र प्रोत्साहन गर्नका लागि आयातमा रोक लगाईएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यका अनुसार बाह्य जिल्ला र विदेशवाट फुल आयात गर्दा जिल्लाका व्यावसायीहरु मारमा पर्ने र ब्यावसायिक क्षेत्रमा थप बिकृति समेत आउने भएकाले रोक लगाईएको हो । उहाँले प्लाष्टिकजन्य फुल गुच्छा उत्पादन, आयात, निर्यात, विक्री वितरण र भण्डारण गर्न पूणर् रुपमा रोक लगाइएको बताउँदै यस्तो कार्य नगर्न,नगराउनुहुन आग्रह गर्नुभएको छ ।
बाह्य जिल्लावाट फुल तथा फुलजन्य प्लाष्टिक लगायका बस्तु आयात तथा विक्रि वितरण गरिएको पाईएमा पाईएमा कानून वमोजिम कारबाही गर्ने चेतावनी समेत प्रशासनले दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!