पर्वत – शारिरीक दुर्वलताका कारण गाउँपालिकाको कार्यालयसम्म आउन नसक्ने नागरिकहरुलाई दक्षिण पर्वतको पैंयु गाउँपालिकाले घरघरमै पुगेर परिचय पत्र वितरण गरेको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको समस्यालाई मध्यनजर गर्दै विगत एक सातादेखि संचालन गरिएको अपाङ्गता शिविर अन्तर्गत फरक फरक प्रकृतिका ३६ जना अपाङ्गता भएकाहरुलाई घरमै पुगेर परिचय पत्र वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत राजीव रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्सिर १८ गतेवाट शुरु भएको शिविर पालिकाका सातवटै वडामा पुगेर मंगलवार सकिएको हो । अन्तिम दिन गाउँपालिकाको केन्द्र रहेको वडा नं. ४ हुवासमा अपाङ्गता परिचयपत्र वितरण गरिएको थियो । कतिपयलाई शिविरमा त शिविरसम्म आउन नसक्नेलाई घरमै पुगेर पनि वितरण गरिएको हो । यो खबर आजको धौलागिरि सञ्चार साप्ताहिकमा छ ।
जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी सहितको टोलीले अपाङ्गताको अवस्था पहिचान र स्वास्थ्य परिक्षण गरेर परिचयपत्र वितरण गरेको हो । प्रमुख प्रशासकिय अधिकृत रिमालका भोर्लेमा ५, सरौखोलामा ५, चिसापानीमा ५, त्रिवेणीमा ९, हुवासमा ६ र अन्यमा ६ जना गरी ३६ जनालाई परिचयपत्र वितरण गरिएको हो । अपाङ्गताको संख्या धेरै भएपनि अन्यले गाउँपालिकामानै आएर लिईसकेको पाईएको छ ।
परिचय पत्र नपाउँदा उनिहरु राज्यवाट पाउने सामाजिक सुरक्षा भत्ता लगायतका सेवा सुविधावाट बञ्चित भएका थिए । अब भने प्रकृति अनुसार राज्यले दिने सेवा सुविधा नियमित रुपमा उपलब्ध गराईने गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिनुभयो ।
गाउँपलिका अध्यक्ष तोरण मल्ल ठकुरी, उपाध्यक्ष एवम् अपाङ्गता समन्वय समितिका संयोजक याम कुमारी राना, प्रमुख प्रशासकीय अधिकृत राजीव रिमाल, सम्वन्धित वडाका अध्यक्ष लगायत जनप्रतिनिधि, मेडिकल अधिकृत ओमप्रकाश यादव लगायतको उपस्थितिमा परिचय पत्र वितरण गरिएको छ । यो खबर आजको धौलागिरि सञ्चार साप्ताहिकमा छ ।
यो शिविर संचालन गरिएसँगै गाउँपालिका भित्र रहेका सवै प्रकृतिका अपाङ्गता र फरक क्षमता भएकाहरुले परिचय पत्र प्राप्त गरेको उपाध्यक्ष यामकुमारी रानाले जानकारी दिनुभयो ।






