राष्ट्रिय सभा अध्यक्ष कपको उपाधि भुकदेउराली र राष्ट्रपति रनिङ्ग शिल्ड नवजागृतलाई - News site from Nepal

पर्वत-पर्वतमा सम्पन्न राष्ट्रिय सभा अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि मोदी गाउँपालिका वडा नं. १ भुकदेउरालीले हात पारेको छ ।
पर्वतको मोदी गाउँपालिकाको आयोजनामा मङ्सिर २० गतेदेखि संचालन भएको अन्तर वडा स्तरीय भलिवल प्रतियोगितामा वडा नं. ५ बाजुङको समुहलाई ३-० को सोझो सेटमा पराजित गर्दै भुकतादेउरालीले उपाधि जितेको हो ।
भुकदेउरालीले उपाधि हात पारेसँगै वडा नं. ५ बाजुङले दोस्रो स्थानमा चित्त बुझाएको छ । रोचक खेलका बीच वडा नं. ६ तिलाहारलाई ३-२ ले हराउँदै वडा नं ८ चित्रेले तेस्रो उपाधि जितेको छ ।
भलिवलमा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः रु.१ लाख, रु.५० हजार र रु. २५ हजार रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
महिला तर्फको भलिबल प्रतियोगितामा चित्रे भलिबल टिम प्रथम, पर्वत भलिबल संघ द्वितीय र धादिङ स्पोर्टस् क्लबले तृतीय स्थान हात पारेका छन् । उनिहरुले क्रमश रु १ लाख, रु.५० हजार र रु.२५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
सोहि अवसरमा आयोजित भजन प्रतियोगितामा थामर्जुङ सामुदायिक वन उपभोक्ता समुह प्रथम भएको छ । सो समुहले २५ हजार नगद र प्रमाण पत्र प्राप्त गरेको छ ।
रत्यौली प्रतियोगिता तर्फ डिमुवा आमा समुह प्रथम, गिज्यान आमासमुह द्वितीय, समाज सेवा महिला समुह देउपुर र देउराली आमा समुह मोदी-६ तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय समुहले क्रमश २५ हजार, १५ हजार र १० हजार नगद र प्रमाण पत्र प्राप्त गरेका छन् ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको जन्मस्थान मोदी गाउँपालिका भएकाले उहाँको सम्मानमा विगत चार वर्षदेखि गाउँपालिकाले राष्ट्रिय सभा अध्यक्ष कप भलिवल प्रतियोगिता संचालन गर्दै आएको छ ।

मोदी गाउँपालिकाकै आयोजनामा सम्पन्न तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड पतियोगितामा नव जागृत मावि तिलाहारले ८ स्वणर्, ४ रजत र ६ कास्य पदक सहित कुल १८ पदक प्राप्त गरी लगातार दोस्रो पटक राष्ट्रपति रनिङ शिल्ड हात पारेको छ । सरस्वती मावि बाजुङ ले ५ स्वणर्, ३ रजत र १ कास्य गरी ९ पदक प्राप्त गरी द्वितीय स्थान हासिल गरेको छ । त्यसै गरी नव ज्योति थम माविले ३ स्वणर्, ६ रजत र ३ कास्य सहित १२ पदक प्राप्त गरी तृतीय स्थान हासिल गरेको छ ।

सबै प्रतियोगिताहरु मोदी गाउँपालिका-६ तिलाहारमा रहेको नवजागृत बहुमुखी क्याम्पसको प्राङ्गण र मोदी युवा क्लबको खेल मैदानमा सञ्चालन गरिएको थियो।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत छात्र छात्रा भलिबल, दौड, रिले दौड, हाइजम्प, लङ जम्प, ट्रिपल जम्प, सटपुट, ज्याभलिन थ्रो, कराते लगायतका खेलहरु सञ्चालन भएका थिए ।

प्राविधिक त्रुटिका कारण पदक खोसियो

तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विभिन्न स्पर्धाहरुमा पाँच ओटा स्वणर् र तीन ओटा रजत पदक प्राप्त गरेको पशुपति माविका कक्षा ११ र १२ का कुनै पनि विद्यार्थीहरुको इमिसमा तथ्याङ्क प्रविष्ट नभएको भेटिए पछि उक्त विद्यालयले प्राप्त गरेका ३ ओटा स्वणर् पदक खोसिएका हुन ।

एउटा खेलमा उजुरी परेपछि छानबिन गर्दा उक्त प्राविधिक त्रुटि भेटिएको आयोजकले जनाएको छ । खेलाडीहरू प्रतियोगितामा सहभागी भई पदक जिती सके पछि प्राविधिक त्रुटि कै कारण पदक खोसिदा खेलाडी तथा अभिभावकहरुले आक्रोस व्यक्त गरेका छन् । सो त्रुटिकै कारण उक्त विद्यालयले रनिङ शिल्ड तर्फ दोस्रो स्थान गुमाएर २ स्वणर्मा सीमित भएको छ ।

राष्ट्रिय सभा अध्यक्ष कप तर्फ पनि अत्यन्तै कडा प्रतिस्पर्धा गरी तृतीय स्थान सुरक्षित गरिसकेको वडा नं ६ को पुरस्कार सम्बन्धमा उजुरी परेको थियो । उक्त उजुरी उपर छानबिन गर्दा सम्बन्धित वडा बाहिरको खेलाडी समावेश भएको पाइए पछि उक्त उपाधि अर्को प्रतिस्पर्धी टिम चित्रे ले प्राप्त गर्यो ।

कराँते लाई पदक तालिकामा समावेश गरिएन

राष्ट्र पति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत पहिलो दिन खेलाईएको कराँते खेलका कुनै पनि खेलहरूको नतिजा पदक तालिकामा समावेश गरिएन । उक्त प्रतियोगितामा बजार क्षेत्रका सीमित विद्यालयहरुको मात्र सहभागिता रहेको थियो । प्रतिस्पर्धा गराएर पदक तालिकामा समावेश नगरेकोमा सहभागी विद्यालयहरुले समेत गुनासो व्यक्त गरेका थिए ।

राष्ट्रिय सभा अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सामान्य विवादहरू देखिए पनि खेल शान्तिपूणर् एबम् नियमसंगत ढङ्गले उत्साहजनक रुपमा सम्पन्न भएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितालाई मर्यादित र सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षबाट अपेक्षित सहयोग प्राप्त भएको गाउँ पालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!