पर्वत – मङ्सिर कृष्ण चतुर्दशीका अवसरमा आज पर्वतका विभिन्न धार्मिक स्थलहरुमा सद्विज छर्नेको घुइँचो लागेको छ ।
पर्वतका विभिन्न पर्यटकीय महत्व बोकेका एक दर्जन भन्दा बढी धार्मिक तथा पर्यटकीय स्थलहरुमा सद्वीज छर्नेको मेला लागेको हो । पर्वतको सदरमुकाम कुस्माबजार नजिकै रहेको गुप्तेश्वर गुफासँगै पञ्चासे, डहरे, सेतीबेणी, मोदीवेणी, अलपेश्वर गुफा, सहस्रधारामा सत्बीज छर्ने भक्तजनको मेला लागेको छ ।
पर्वतको सदरमुकाम कुस्मा स्थित गुप्तेश्वर गुफामा बिहानै देखि पर्वत र छिमेकी बागलुङ्ग, म्याग्दी, कास्की जिल्लाबाट श्रद्धालुहरु आउने क्रम बढ्दै गएको छ । पाँच सय मिटर लामो गुप्तेश्वरमा भगवान शिब गुप्तबास बसेको र पार्वतीले पुजा गरेको धार्मिक बिश्वास रहेको छ । त्यस्तै कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारीमा पर्ने अलपेश्वर गुफामा पनि दर्शनार्थीको भिड लागेको छ ।
यसैगरी पर्वत, कास्की र स्याङ्गजाको सिमानामा रहेको पञ्चासेमा पनि सद्बीज छर्नेहरुको घुँइचो लागेको छ । यहाँ पनि छिमेकी जिल्लाहरुबाट श्रद्धालु भक्तजन आउने गरेका छन् । पञ्चासे ताल देखि ऋषि मुनिहरुले तपस्या गरेको कुटी हुँदै सिद्धबराह मन्दिर सम्म करिब ५ किलोमिटर क्षेत्रमा सद्बीज छर्ने भएकाले यो सबैभन्दा लामो गन्तब्य मानिन्छ ।
पर्वत, गुल्मी र स्याङ्गजा तीन जिल्ला र साविक धौलागिरी, गण्डकी तथा लुम्बिनी तीन अञ्चलको सिमानामा पर्ने सेतीबेणी धाममा पनि सद्बीज छर्नेहरुको घुँइचो लागेको छ । बिश्वकै ठुलो मानिएको शालिग्राम शिला वरपर सत्बीज छर्ने गरिन्छ । कुस्मालाई ज्ञादी जोडने नेपालकै सबैभन्दा अग्ला दुईवटा झोलुङ्गे पुल बनेपछि यहाँ ठुलो मेला लाग्न थालेको छ ।
यसैगरी पर्वत र स्याङजा जिल्लाको सिमानामा पर्ने डहरे देउराली, लुंखुदेउरालीमा अवस्थित एशियाकै ठुलो महाशिला, ठूलीपोखरीको बाटुलेचौर लगायतका स्थानहरुमा पनि स्थानीय समुदायका व्यक्तिहरुले सद्बीज मेलाको आयोजना गरेका छन् । महाशिलामा विशेष कार्यक्रम नै आयोजना गरिएको छ ।
शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ तर पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ । यसैगरी शतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूल पनि हुने गर्छन् ।






