पर्वत – नेकपा एमालेले संचालन गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आज पर्वत आईपुग्ने भएको छ ।
विहान बागलुङको गलकोटवाट शुरु भएको यात्रा बागलुङ सदरमुकाम हुँदै पर्वत आउन लागेको हो । संकल्प यात्रालाई लक्षित गरेर नेकपा एमाले पर्वतले कुश्माबजारमा जनसभाको तयारी गरेको छ । उक्त जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत केन्द्रीय तहका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार दिउँसो १ बजे ओली पर्वत र बागलुङको सिमाना मालढुंगामा आईपुग्ने र पर्वतमा स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यस लगत्तै सदरमुकाम कुश्माबजारमा आयोजना गरिएको आमसभामा सम्वोधन गर्ने कार्यक्रम रहेको पौडेलले बताउनुभयो ।
आमसभा सकिएपछि पर्वत र कास्कीको सिमाना नयाँपुलमा पुगेर बिदाई गरिने भएको छ । संकल्प यात्रामा निस्किएको एमालेको टोली बिहीवार पोखरामा बस्ने भएको छ ।
यता पर्वतमा आयोजित आमसभाको सवैजसो तयारी पुरा भएको छ । आमसभा अघि विहान ११ बजेवाट कुश्माबजारका चार वटा स्थानवाट जुलुस प्रदर्शन गरिने भएको छ । फलेवास, विहादी, पैंयु र महाशिलाको बडागाउँचौरदेखि, मोदीको खरेहादेखि, जलजलाको पुरानोबजार र कुश्मा नगरपालिकाको मैत्रीचोक देखि जुलुस निस्किने र लोकतन्त्र चोकमा पुगेर एकत्रित हुँदै बान्द्रेविडिमा आयोजित सभामा परिणत हुने भएको छ ।
जिल्लाका सातवटै गाउँपालिका र एमालेका भातृसंगठनहरुका छुट्टाछुट्टै र्याली, झाकी, भजन तथा पञ्चेवाजा सहितको जुलुस निकालिने र उत्कृष्ट जुलुस प्रदर्शन गर्ने समुहलाई पुरस्कारको समेत व्यवस्था गरिएको जिल्ला सचिब गोबिन्द पहाडीले जानकारी दिनुभयो ।
संकल्प यात्रालाई लक्षित गरि पर्वत र बागलुङको सिमाना मालढुंगादेखि कास्की र पर्वतको सिमाना नयाँपुलसम्म झकिझकाउ पारिएको छ ।
त्यसैगरी युवा संघले मालढुंगादेखि तीन सय मोटरसाईकलले स्कर्टिङ गर्ने तयारी समेत गरेको छ ।






