पर्वत- जिल्लाको मोदी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड तथा राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगीताको शुरुवात भएको छ । बुधवार एक कार्यक्रमका वीच राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले प्रतियोगीताको शुरुवात गर्नुभएको हो ।
मोदी गाउँपालिकाको तिलाहारमा आयोजना गरिएको प्रतियोगीतामा चार दिनसम्म चल्नेछ । रनिङ शिल्डका लागि भने विद्यालयहरुले सहभागीता जनाउनेछन् ।
अध्यक्ष कप प्रतियोगीतामा गाउँपालिकाका वडा स्तरीय खुल्ला पुरुष भलिबल तथा महिला भलिबल खेलको आयोजना गरिएको छ । यसैगरी कार्यक्रममा रत्यौली र भजन प्रतियोगिता समेतको आयोजना गरिएको छ ।
मंसिर २४ गतेसम्म सञ्चालन हुने प्रतियोगीताको सवै खर्च रकम गाउँपालिकाले ब्यवस्थापन गर्दै आइरहेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड १९ का कारण पर्वत जिल्लाका आयोजनाहरु अलपत्र परेको बताउनुभएको छ । विकास आयोजनाहरु अघि बढिरहेको बेलामा कोभिड शुरु भएपछि त्यसले असर गरेको तिमिल्सीनाको दावी छ । उहाँले जिल्लामा छोटो अवधिमा १ सय किलोमिटर सडक कालोपत्रे भएको उल्लेख गर्दै अरु आयोजनाहरु भने अहिले प्रभावित भएको बताउनुभयो ।
तिमिल्सीनाले देश बनाउन सवैजना मिल्नुपर्ने भन्दै आर्थिक मन्दिका कारण सुस्ताएका आयोजनाहरुले छिट्टै गति लिने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा संविधान सभाका सदस्य कल्पना चापागाई, प्रदेश सभा सदस्य भक्त कुँवर, मोदी गाउँपालिका अध्यक्ष हिरादेवी शर्मा, उपाध्यक्ष बिमल लामिछाने, वडा न ६ का वडा अध्यक्ष दिपेन्द्रजंग लामिछाने लगाएतले मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रमको संचालन शिक्षा अधिकृत दिनेश पौडेलले गर्नुभएको थियो ।






