पर्वत – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २०७४ सालको चुनावी सभालाई सम्वोधन गर्न पर्वत आउनुभएको थियो । त्यतिवेला उहाँले पोखरा-कुश्मा-बेनी रेलमार्ग बनाउने र कुश्मामा रेल स्टेशननै बन्ने घोषणा गर्नुभएको थियो । उक्त अभिव्यक्ति ६ वर्षपछि पनि निकै ताजा विषयको रुपमा चर्चामा रहेको छ ।
२०७४ साल कात्तिक ३० गते तत्कालीन एमाले र माओवादीको संयुक्त बाम गठबन्धनले चुनावी सभाको आयोजना गरेको थियो । जतिवेला काठमाण्डौ-केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन भैरहेको थियो । सोहि प्रसंगमा केरुङ्गवाट काठमाडौसम्म रेल आईकसेपछि आफ्नो नेतृत्वमा बन्ने सरकारले पोखरासम्म निर्माण गर्ने बताउनुभएको थियो । उहाँले भन्नुभएको थियो ‘पोखरासम्म रेल आईसकेपछि त बेनी सम्मको रेलमार्गको लागि केही भन्नु पर्ला जस्तो लाग्दैन ।’ बेनीसम्म रेलमार्ग जाने भएपछि कुश्मामा नआउने कुरै भएन । कुश्मामा त रेल स्टेशननै बनाउने हो, यो केहि वर्षमा बन्छ ।’ ओलीको तत्कालीन अभिव्यक्ति अहिले पनि सामाजिक सञ्जालमा ब्यापक चर्चा पाएको छ । उक्त सम्वोधनको भिडियो अहिले फेसबुक तथा टिकटकमा निकै चर्चा बटुलेको छ ।
अध्यक्ष ओली २०७९ सालको निर्वाचन अघिको चुनावी सभालाई सम्वोधन गर्न पनि आउनुभयो । २०७९ चैत २६ गतेको चुनावी सभामा पनि उहाँले अघिल्लो पटकको रेलको प्रसंग कोट्याउँदै रेलमार्ग भन्ने कुरा झोलामा वा डोकोमा बोकेर ल्याउने कुरा नभएको बताउनुभयो । उहाँले जनकपुर-जयनगर रेलमार्ग आफ्नो नेतृत्वको सरकारले संचालन गरेको बताउँदै अब अन्य ठाउँमा पनि रेलमार्ग बिस्तार गर्दै लैजाने बताउनुभएको थियो ।
ओलीले अघिल्लो उठाएको रेलमार्गको योजना पुन आफ्नो नेतृत्वमा सरकार बनेमा साकार हुने बताउनुभएको थियो ।
नेकपा एमालले संचालन गरेको समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत यहि मंसिर २१ गते पर्वत सदरमुकाम आउने कार्यतालिका छ । सोहि दिन २०७४ साल र २०७९ को चुनावी सभा भएकै ठाउँ कुश्माबजारको बान्द्रेविडी पार्कमा आमसभा आयोजना गरिएको छ । ओली पर्वत आउने चर्चासँगै रेलमार्गको विषयले फेरी सामाजिक सञ्जाल तताएको छ । कतिपयले ‘रेल लिएर आउँदै होलान, रेल उद्घाटन गर्न होला, रेल कहिले आउँने हो जस्ता अभिव्यक्ति तथा विषयहरु राख्न थालेका छन् ।
यो विषयमा ओलीले प्रसंग उठाउने कतिपयको आँकलन रहेको छ । रेलको विषयलाई यस क्षेत्रका नागरिकले दुई किसीमले हेरेको पाईएको छ । केहिले चुनावमा मत बटुल्नका लागि प्रसंग निकालिएको भन्दै हास्यास्पद भनेका छन् भने कतिपयले जुनसुकै योजना र काम गर्नुअघि सपना देख्नु पनि ठुलो कुरा हो । जव सपना देखिन्छ तब गन्तव्यमा पुग्न सकिन्छ भन्ने गरेको पाईन्छ । पर्वत, म्याग्दीजस्ता पहाडी क्षेत्रमा पनि रेलमार्ग बन्ला र भनेर चिन्तन गरेको समेत पाईन्छ ।
ओलीले उठाएका तीनवटा योजना मध्ये पुष्पलाल मध्यपहाडी राजमार्गको काम पर्वत खण्डमा सम्पन्न भैसकेको छ भने कालीगण्डकी करिडोरको पनि धमाधम काम भैरहेको छ । धेरै चर्चाको विषयमा रहेको रेलमार्ग भने कहिले बन्ला भन्ने प्रतिक्षामा आम नागरिक रहेका छन् । रेलमार्ग बन्यो भने यस क्षेत्रको मुहार फेरिने निश्चित छ ।
नेकपा एमाले पर्वतले एमाले अध्यक्ष ओलीको नेतृत्वमा भैरहेको समृद्धिका लागि संकल्प यात्राको पर्वतमा स्वागत, विदाई र आमसभाको तयारी तीब्र बनाएको छ ।






