पर्वत – पर्वतबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा निर्वाचित माननिय सांसदहरुलाई फलेवास नगरपालिकाले सोमबार एक कार्यक्रमका बिच बधाई तथा सम्मान कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा बोल्दै पर्वतबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद पदम गिरीले पर्वतको समृद्धीमा अब तीनै तहका सरकारका प्रतिनिधि एक भएर अघि बढ्नुपर्ने बताउनुभयो । गिरीले राजनीतिक आस्थामा पक्ष बिपक्ष नभनि एक भएर अघि बढ्न सकेमा अबको पाँच वर्षमा पर्वतमा हरेक क्षेत्रको विकासले गति लिने बताउनुभयो । प्रदेशसभा (क) मा निर्वाचित सदस्य भक्तबहादुर कुँवरले संघिय र प्रदेश सरकारमा जस्तो सत्तापक्ष र प्रतिपक्ष स्थानीय सरकारमा नहुने भएकोले सोहि अनुरुप आम सर्वसाधारणले महसुस गर्नेखालको विकास गर्न स्थानीय सरकारका प्रतिनिधिहरु एक भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले हरेक विकासनिर्माणमा सहयोग गर्न आफु आतुर रहेको बताउँदै आम सर्वसाधारणको हितका कुनैपनि काममा ढिलासुस्ती गर्न कसैलाई छुट नभएको बताउनुभयो ।
नगरप्रमुख गंगाधर तिवारीले आफु सबैभन्दा तल्लो तहको सरकारको प्रतिनिधि भएकोले फलेवास सहित समग्र पर्वत जिल्लाको विकासमा तीनै तहका सरकारसंग हातेमालो गर्दैै अघि बढ्न आफु तयार रहेको बताउनुभयो । निर्वाचनका बेला फरक राजनीतिक आस्थाबाट चुनाव लडेको भए पनि निर्वाचनपछि जनताले अनुभुत गर्नेखालको विकास गर्न पक्षबिपक्ष नभनि अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य पदम गिरीलाई छिट्टै नेपाल सरकारको मन्त्री बन्न शुभकामना दिनुहुँदै मन्त्रीका रुपमा स्वागत र सम्मान गर्न आफु र फलेवासबासी जनता आतुर रहेको बताउनुभयो । प्रमुख प्रशासकीय अघिकृत नेत्रप्रसाद पौडेलले सञ्चालन गरेको कार्यक्रममा फलेवासका संस्थापक नगरप्रमुख पदमपाणी शर्मा र नगर उपप्रमुख शोकाकुमारी क्षेत्रीले नगरको समग्र विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्ने खाँचो रहेको औल्याउनुभयो ।






