पर्वत- नेपालीहरुको महान पर्व बडादशै, दिपावली र छठको अवसरमा पर्वत उद्योग बाणिज्य संघको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै वक्ताहरुले मुलुकमा आएको आर्थिक मन्दीका कारण चौतर्फि समस्या पर्दै गएको बताउनुभयो । बजारमा महंगी बढ्दै गएको छ भने बैंकहरुमा तरलता अभावले लगानी हुन नसक्दा जिल्लावासी समस्यामा परेको बताएका छन् । समग्र अर्थतन्त्रको सुधारका लागि सवै पक्षवाट पहल गर्नुपर्ने आवश्यकता औलाइएको छ ।
कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले दशै पर्वलाई आफ्नो औकात अनुसार मनाउनुपर्नेमा जोड दिनुभएको छ । छिमेकीको देखासिकी गरेर नभई आफ्नो आर्थिक अवस्थालाई हेरेर चाडपर्व मनाउनुपर्ने बताउनुभयो । उहाँले बजारमा देखिएको समस्या समाधानका लागि प्रशासनसँगको सहकार्यमा सरोकारवाला निकायसँग समन्वय गर्न आफु तयार रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोम जिसी, कुश्मा नगरपालिकाका नगर उपप्रमुख स्वस्थानीय रिजाल, फलेवासका उपप्रमुख शोभा क्षेत्री, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा, नेकपा एमालेका जिल्ला अध्यक्ष राजु पौडेल, पर्वत काँग्रेसका सभापति युवराज जोशी, माओवादी नेतृ मनरुपा सुवेदी, पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष केदारनाथ शर्मा, बैंकर्स क्लवका अध्यक्ष गोविन्द आचार्य लगायतले बोल्नुभएको थियो ।
अध्यक्ष गोपि अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धन्यवाद मन्तव्य बरिष्ठ उपाध्यक्ष ठाकुरवि पौडेल र संचालन कार्यालय प्रमुख टंकनाथ शर्माले गर्नुभएको थियो ।






