पर्वत- नेकपा(एमाले)का उपमहासचिब पृथ्वीसुब्बा गुरुङ्गले देशको भलाई र हित चाहने हो भने वर्तमान पाँच दलिय गठबन्धन भत्काउनै पर्ने बताउनुभएको छ ।
नेकपा(एमाले) पर्वतले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उपमहासचिब गुरुङ्गले वर्तमान गठबन्धन कायम रहँदा देश अझै बर्बाद हुने भएकाले गठबन्धन भत्कनुपर्ने कुरामा जोड दिनुभएको हो ।
‘नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले देशको हितमा एउटा पनि काम गरेको छैन।’ उहाँले भन्नुभयो‘मुलुकको अधोगति चाहने हो भने मात्रै वर्तमान गठबन्धन कायम राख्नुपर्छ, देशका समस्या समाधान गर्ने हो भने गठबन्धन भत्कनुको बिकल्प छैन, गठबन्धन कायम रहँदा देश झनै बर्बाद भएर जान्छ ।’ दक्षिणपन्थी यथास्थितिबादी कांग्रेस र आफुँलाई बामपन्थी र प्रगतिशिल भन्ने कम्युनिष्टहरुको बिचमा गठबन्धन नै स्वार्थमा मात्रै बन्न सक्ने चर्चा गर्दै एमाले उपमहासचिब पृथ्वीसुब्बा गुरु्रङ्गले देश लुट्ने कुरामा अहिले स्वार्थ मिलेका कारण गठबन्धन कायम भएपनि देशको हित चाहने हो भने बामपन्थीहरु कांग्रेस संगको गठबन्धनबाट बाहिर आउनुपर्छ भन्नुभयो ।
गठबन्धन सरकार आएपछि देशमा महंगीले सिमा नाघेको , देशको अर्थतन्त्र टाट पल्टने अबस्थामा पुगेको बताउनुभयो । गलत अर्थनिती र कार्यक्रमका कारण देश श्रीलंका बन्ने बाटोमा पुगेको छ उहाँले भन्नुभयो देशको बिग्रदो आर्थिक अबस्था बचाउन र स्वाधिनता जोगाउन पनि बामपन्थीहरु मिल्नुको बिकल्प छैन भन्नुभयो । वर्तमान गठबन्धनले देशको परराष्ट्र सम्बन्ध बिगार्दै अमेरिकी सैन्य गठबन्धन(एसपीपी) पास गर्ने तयारीमा रहेको बेला एमालेको र नागरिक समाजको बिरोध पछि मात्रै सम्झौता नगर्ने निणर्यमा पुग्न बाध्य भएको दाबी पनि गर्नुभयो । एसपीपीमा गठबन्धनले नाकबाट पानी खाने काम गरेको आरोप पनि उहाँले लगाउनुभयो । कार्यकर्तालाई एमसिसीका बिरुद्ध सडकमा पठाउने र सम्झौतामा हस्ताक्षर गर्ने माओबादी लगायतका राजनैतिक दलको दोहोरो चरित्रमा पनि सुधार आउनुपर्ने भनाई उहाँको थियो ।
नेकपा(एमाले)को आन्तरिक एकता कायम गर्ने र सृदृढ कार्यकर्ता पंक्तिलाइ राम्रो संग परिचालन गर्ने हो भने आगामी निर्वाचनमा एमालेको बिजय सुनिश्चित रहेको ठोकुवा पनि उपमहासचिब गुरुङ्गको थियो ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य जगत बिश्वकर्मा र मना केसी, केन्द्रिय सदस्यहरु मायानाथ अधिकारी, पदम गिरी, एमाले गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष मोहन रेग्मी, उपसचिब मञ्जु अधिकारी, प्रदेश कमिटीका सचिबालय सदस्य तथा मुक्ति समाजका केन्द्रिय अध्यक्ष मनोहर बिश्वकर्मा पौडेलले प्रशिक्षणात्मक मन्तब्य राख्नुभएको थियो ।
एमाले पर्वतका अध्यक्ष राजुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष पदमपाणी शर्मा र सञ्चालन सचिब गोबिन्द पहाडीले गर्नुभएको थियो । प्रशिक्षण कार्यक्रममा जिल्ला कमिटीका सदस्य, सल्लाहकार, एमालेबाट निर्वाचित जनप्रतिनिधी, जनसंगठन र पालिका कमिटीका गरि झण्डै ४ सय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।






