पर्वत – पर्वतको फलेवास नगरपालिकाभित्रको २३ किलोमिटर कालोपत्रे गरिने भएको छ ।
नगरका बिभिन्न वडा कार्यालयको केन्द्र जोड्ने सडकहरु कालोपत्रे हुने भएका हुन् । नगरभित्रका वडा नम्बर २, ६, ७, ८ र ९ को कार्यालय जोड्ने सडक कालोपत्रे हुने भएको नगरप्रमुख गंगाधर तिवारीले जानकारी दिए ।
वडा नम्बर ६ देविस्थानको ओख्ले हुँदै लमाय-लिमिठाना, ठानामौला-बेतेनी- थापाठाना सडक कालोपत्रेको प्रकृयामा अघि बढेको उनले बताए । नगरका पाँचवटा वडा कार्यालयको मुकाम जोड्ने मुख्य सडक सञ्जालमा समेटिएको उक्त सडकको लम्बाई २३ किलोमिटर छ ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको ग्रामिण सडक सञ्जाल सुधार आयोजना (आरसीआइपी) ले उक्त सडकको कालोपत्रे प्रकृया अघि बढाएको छ । आयोजनाले उक्त सडकको कालोपत्रेका लागि वातावरणीय प्रभाव मुल्याङ्कन तथा समुदाय सहभागि योजनाको अध्ययन शुरु गरेको छ ।
आरसीआइपीले उक्त सडकको (इआइए र सिपिपि) का लागि सिभिल इन्फर्मेटिभ सोलुसनलाई जिम्मा दिइसकिएको र उक्त सडक चालु वर्षभित्रै ठेक्का प्रकृयामा जाने जानकारी दिएको छ । आरसिआइपीले जिम्मा दिएको सिभिल इन्फर्मेटिभ सोलुसनका इन्जिनियरहरु सञ्जिव श्रेष्ठ, विष्णु गौतम लगायतको टोलीले बुधबारदेखि सडकको स्थलगत अवस्थाको वास्तविक अध्ययन शुरु गरको छ ।
प्राविधिकहरुको टोलीले देविस्थानदेखि लिमिठाना, ठानामौला, भंगरा हुँदै थापाठानासम्मको सडक छेउमा पर्ने मापदण्ड, भौतिक संरचना, बस्ती लगायतको अवस्थाबारे अध्ययन गरेको छ । नगरप्रमुख तिवारीले आफुले निर्वाचनका बेला गरेका बाचा पुरा गर्ने अभियान अन्तर्गत यो सडक कालोपत्रेका लागि निरन्तर खटिएका कारण छोटो समयमा नतिजा हासिल गर्न सफल भएको बताए ।
आरसीआइपीका आयोजना प्रमुख कमल अधिकारीका अनुसार उक्त सडक चालु वर्षभित्रै टेण्डर प्रकृयामा गएर आगामी ३ वर्षभित्रै कालोपत्रे सम्पन्न हुने भएको छ । फलेवासमा यस अघि वडा नं. १ कार्किनेटा, वडा नं. ५ खानीगाउँ, वडा नं. ६ देविस्थान र वडा नं. १० कुर्घामा भने कालोपत्रे सडकको पहुँच पुगिसकेको छ ।
तस्विर पनि छ ।






