पर्वतको पिपलटारीका चार परिवार विस्थापित, ६० घर जोखिममा - News site from Nepal
पर्वतको पिपलटारीका चार परिवार विस्थापित, ६० घर जोखिममा

पर्वत- केही दिनदेखिको वर्षापछि खसेको पहिरोले कुश्मा नगरपालिका-१० पीपलटारीका करिब ६० परिवार रहेको बस्ती जोखिममा परेको छ ।
सिमखेतस्थित बस्तीमाथिको फाँटबाट पहिरो खसेपछि आसपासका बासिन्दा त्रसित छन् । करिब दुई सय मिटर माथिबाट बग्न सुरु गरेको पहिरो बस्तीसम्मै आइपुगेपछि चार परिवारले घरै छाडेका छन् । स्थानीय कृष्ण सुवेदी, होमनाथ शर्मा, जगत् सुवेदी र रघुनाथ सुवेदीका परिवार पहिरोले पुरिने डरले घर छोडेर छिमेकीकोमा शरण लिइरहेको स्थानीय गणेश पौडेलले बताए ।
त्यस्तै आपसापका ६४ परिवार रहेको बस्ती पहिरोको प्रत्यक्ष जोखिममा छ । पहिरोका कारण गाउँमा वितरित विद्युत्का पोलसमेत ढल्न थालेपछि स्थानीयले विद्युत् प्राधिकरणको कुश्मा वितरण केन्द्रलाई जानकारी गराएका छन् ।
दुई वर्षअघिदेखि खेतको फाँटमा धाँजा फाटेको र गत सोमबारदेखि परेको वर्षापछि खेतसहित पहिरो बगेर बस्तीमा खस्न थालेको स्थानीय शंकर सुवेदीले बताए । विद्युत्को तार घरमा आएर करेन्ट लाग्ने हो भन्ने त्रासले राति घरमा बस्न नसकिएको उनले बताए । पहिरोले १२ रोपनी जग्गासमेत बगाइसकेको छ । स्थानीय खिमनाथ सुवेदी धान खेतसमेत बगाएपछि कहाँ बस्ने र के खाने भन्ने चिन्ताले सताएको बताउँछन् ।
‘अघिल्ला वर्षमै धाँजा फाटेको थियो,’ स्थानीय रामचन्द्र सुवेदीले भने, ‘अहिले वरपरको थुप्रै खेतसहित बस्ती नै बगाउने गरी खसेको छ । अब तत्काल रोकथाम नगरे हामी ६०-६५ परिवार विस्थापित हुनुपर्नेछ ।’ नगरपालिका हुँदै प्रदेश र केन्द्रसम्म समस्या समाधानका लागि पहल गर्न स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन् ।
पहिरोले बस्ती नै बग्न थालेको जानकारीपछि कुश्मा नगरउपप्रमुख स्वस्थानी रिजाल, इन्जिनियरद्वय शिवप्रसाद बराल र सञ्जय लामिछाने, विद्युत् प्राधिकरणको कुश्मा वितरण प्रमुख शिवनारायण गोशली, भू तथा जलाधार व्यवस्थापन कार्यालयका इन्जिनियर विकास थापालगायतको टोलीले मंगलबार पहिरोग्रस्त क्षेत्रको अनुगमन गरेको छ ।अनुगमनपश्चात् प्राविधिकको टोलीले तत्काल नियन्त्रणको प्रयास थाल्नुपर्ने निष्कर्ष निकालेको छ । त्यसका लागि भू तथा जलाधार कार्यालयले ग्याभिन जाली तथा अन्य अस्थायी रोकथामका काम सुरु गर्ने जनाएको छ ।
प्राधिकरणका पर्वत प्रमुख गोशलीका अनुसार बस्तीमा जोखिम भएको विद्युत्का पोल फेर्न सुरु भइसकेको छ । ‘पहिरो खसेको स्थानमा ३ वटा पोल जोखिममा छन् । एउटा पहिरोले बगाएर तल खसालेको छ,’ उनले भने, ‘बाँकी दुईवटा हटाउनुपर्ने छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!