चुनाव लक्षित रणनीति बनाउँदै पर्वत काँग्रेस, साउन १४ बाट लगातार छलफलमा जुट्दै - News site from Nepal

पर्वत : संघ र प्रदेशको निर्वाचन हुने समय नजिकिँदै जाँदा नेपाली काँग्रेस पर्वतले आफ्ना भातृ तथा शुभेच्छुक संघ संस्थाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रमहरु अगाडि बढाउने भएको छ।
त्यसका लागि बिहीबार पार्टीको बैठक बसेर विभिन्न कार्यक्रहरुको लागि तयारी गरिएको नेपाली कंग्रेस जिल्ला कार्यसमिति पर्वतका सहसचिव तथा प्रवक्ता अच्युत तिवारीले जानकारी दिए। जिल्ला सभापति यूवराज जोशीको सभापतित्वमा बसेको बैठकले यही साउनको १४ गतेदेखि २८ गतेसम्मका लागि कार्यक्रमहरुको तय गरेको छ।
तालिका अनुसार साउन १४ गते महिला संघसंग छलफल, १५ गते पदाधिकारी बैठक, १६ गते नेपाल बिद्यार्थी संघसँग छलफल, १८ गते दलित संघ जिल्ला कार्यसमितिसँग छलफल, १९ गते तरूण दल जिल्ला कार्यसमितिसँग छलफल, २० गते भूतपूर्व सैनिक संघ र स्वास्थ्यकर्मीको जिल्ला कार्य समितिसँग छलफल, २१ गते नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिसँग छलफल, २२ गते प्राध्यापक संघ जिल्ला कार्यसमितिसँग छलफल तय भएको छ।
यस्तै साउन २३ मा नेपाल प्रेस युनियन जिल्ला कार्यसमितिसँग छलफल, २४ गते कर्मचारी युनियन संघ जिल्ला कार्यसमितिसँग छलफल, २५ गते नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिको बैठक, २६ लोकतान्त्रिक कानुन व्यवसायीसँग र लोकतान्त्रिक गैह्र सरकारी संस्था महासंघ नेपालको जिल्ला कार्यसमिति पर्वतसँग छलफल गर्न लागिएको छ। यस्तै साउनको २८ गते गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको बारेमा समीक्षा गर्ने कार्यक्रम राखिएको छ।
प्रवक्ता तिवारीका अनुसार ती सबै कार्यक्रमहरु नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिको कार्यालय बि.पि. स्मृति भवन कुश्मामा आयोजना गर्न लागिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2022 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!