मातृभूमिका लागि पर्वत सेवा समाज नेपालद्धारा अरिङ्गाल पिडित परिवारलाई ५० हजार सहयोग - News site from Nepal

पर्वत- अरिङ्गालको टोकाईवाट घरमूलीको मृत्यु भएपछि आर्थिक समस्यामा परेको पर्वतको कुश्मा नगरपालिका-१ पाङको नुवारस्थित चौरको एक परिवारलाई रु ५० हजार सहयोग गरिएको छ ।
गत साउन १२ गते अरिङ्गालले चिलेर ३४ वर्षिय श्रीराम परियारको उपचारको क्रममा मृत्यु भएपछि उनका दुई श्रीमती र छ जना बालबालिकाहरू आर्थिक समस्यामा पर्दै आएका छन् । दैनिक मजदुरीको भरमा धानिँदै आएको नौ जनाको परिवारको मुख्य आम्दानीकर्ता श्रीरामको निधन भएपछि किरिया खर्च जुटाउन समेत परिवार असमर्थ बनेको परिवारलाई मातृभूमिका लागि पर्वत सेवा समाज नेपालले रु ५० हजार आर्थिक सहयोग गरेको हो ।
शनिवार कुश्मामा एक कार्यक्रमको आयोजना गरी कुश्मा नगरपालिकाका नगर उपप्रमुख स्वस्थानी रिजालले कान्छि श्रीमती नैनकली दर्जिलाई सहयोग हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा बोल्दै उपप्रमुख रिजालले विदेशमा पसिना बगाएर कमाएको पैसाले पिडितहरुको घाउमा मल्हम लगाउने प्रयास गरेको भन्दै सहयोगदाताको प्रसंसा गर्नुभयो । उक्त रकम दैनिक खानपानमा भन्दा पनि समस्यामा परेका ६ जना बालबालिकाको शिक्षा दिक्षा, शैक्षिक सामाग्रीमा खर्चिन आग्रह गर्नुभयो । उहाँले उक्त परिवारको लागि अहिलेसम्म ७ लाख रुपैया संकलन भएको बताउँदै रकमको सहि सदुपयोग गरी बालबालिकाको पठनपाठनमा ध्यान दिन आग्रह गर्नुभयो । आगमी दिनमा समेत सहयोगका लागि पहल गर्ने उहाँको प्रतिवद्धता छ ।
सो अवसरमा परियारकी श्रीमती नैनकलीले दैनिक ज्यालामजदुरी गरेर गुजारा चलाउने गरेकोमा श्रीमानको मृत्युपछि समस्या भएको बताउनुभयो । किरिया खर्च अम्काउन, विहान बेलुवा छाक टार्न र घर बनाउन तथा उनिहरुको पठन पाठनमा समस्या परेको उहाँको गुनासो थियो ।
मातृभूमिका लागि पर्वत सेवा समाज नेपालका अध्यक्ष अर्जुनप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमा स्वागत सिसेफ नेपालका संस्थापक अध्यक्ष टंकनाथ लाछिाने र संचालन समाजका सचिब अर्जुन निर्जन पौडेलले गर्नुभएको थियो । आर्थिक ब्यबस्थापन इजरायल शाखाबाट कुशुम ऋचा र ज्योति शर्माले गर्नुभएको थियो ।
यस अघि स्थानीय पाङ युवा क्लबले ‘आर्थिक सहयोग सङ्कलन अभियान’ सञ्चालन गरेको थियो । उक्त अभियानमा गाउँमै रहेका श्रीरामका छिमेकी, आसपासका गाउँ, वैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर रहेका तथा देशकै विभिन्न स्थानमा रहेका चिनजानका व्यक्तिहरूबाट पाँच लाख ६० हजार तीन सय ९७ रुपैयाँ सङ्कलन भएको क्लवका अध्यक्ष जयराम सुवेदीले बताउनुभयो । उक्त रकम स्थानीय सहकारीमा जम्मा गरेर त्यसवाट आउने ब्याजवाट बालबालिकाको पठनपाठन र अन्य काममा खर्च गर्न दिईने सुवेदीले बताउनुभयो ।
‘श्रीरामका दुई श्रीमती हुनुहुन्छ। दुवैतर्फ १/१ जना बच्चाको नाममा सहकारीमा संयुक्त रूपमा मुद्दती खाता खोलेर रकम राखिदिएको उहाँले बताउनभयो ।
श्रीरामका दुई श्रीमती फूलमाया नेपाली र नैनकली दर्जीले आफूहरूको आर्थिक अवस्था कमजोर रहेको र मजदुरी नगरेसम्म छाक टार्न नसक्ने अवस्थामा रहेकाले बालबालिकाहरूलाई पाल्न नै समस्या भएको बताउँछन् ।
एकातर्फ श्रीमान् गुमाउँदाको शोक अर्कोतर्फ कमाएर ल्याउने मुख्य मान्छेकै मृत्यु भएपछि भइरहेको आर्थिक समस्याले आफूहरूलाई कठिनाइ भएको उनीहरूको भनाई छ।
श्रीरामको घर नजिकै रहेको शारदापुरमा काभ्रोको रुखमा गोलो बनाएर बसेको अरिङ्गालले गाउँलेहरूलाई सताइरहेको थियो। अरिङ्गालको टोकाइमा आफ्ना सन्तान पनि पर्न सक्ने जोखिम देखेर श्रीराम साउन १२ गते साँझ छ बजे अरिङ्गालको गोला जलाएका थिए।
त्यहीँ नजिकै रहेको अर्को गोलाको बारेमा उनी बेखबर थिए। एउटा गोला जलाएको देखेपछि अर्को गोलाबाट आएका झण्डै दुई सय अरिङ्गालले उनलाई चिलेर घाइते बनाए ।
गाउँमै रहेको स्वास्थ्य संस्थामा सामान्य उपचार गरेपछि तत्कालै थप उपचारको लागि धौलागिरि अस्पताल बागलुङले लगेर उपचार गर्दै गर्दा मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!