पर्वत – आदर्श अंग्रेजी आवासीय माध्यमिक विद्यालय कुश्मा पर्वतको प्राङ्गणमा जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको संयोजनमा लागु पदार्थ दुव्र्यसनी विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ।
आदर्श अंग्रेजी आवासीय माध्यमिक विद्यालयका संस्थापक/प्रिन्सिपल हिम बहादुर पौडेल क्षेत्रीले उपस्थित सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्दै यस्ता सचेतना कार्यक्रमले समाजका परिवर्तनका बाहक विद्यार्थीहरुलाई सहयोग पुग्ने तथा समाजमा सचेतना फैलाउने काम हुने कुरा व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा लागु पदार्थ दुव्र्यसनीमा फसेर धेरै प्रयास पछि सुधार भइ आएका पर्वत स्पोर्ट्स क्लबका सदस्य राजिव तिवारीले आफ्नो अनुभवहरू प्रस्तुत गर्दै विद्यार्थी भाइबहिनीहरु समयमै सचेत रहन आग्रह गरेका थिए।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब निरीक्षक मधुसुदन न्यौपानेले लागु पदार्थ के हो? यसबाट कसरी बच्ने र अरुलाई बचाउन सकिन्छ भन्ने कुरामा स्पष्ट पार्नुभएको थियो। उहाँले विद्यार्थी भाइबहिनीहरु आफु पनि सचेत हुने र अरुलाई समेत सचेतना फैलाउने काममा सहयोग गर्ने र पर्वत जिल्ला लागु पदार्थ मुक्त बनाउनमा साथ पाउने कुरा बताउनुभएको थियो।

महिला बालबालिका सेवा केन्द्रका इन्चार्ज प्रहरी नायव निरीक्षक पूर्णिमा थापाले लागु पदार्थका बारेमा सम्पूर्ण जानकारी सहितका विभिन्न भिडियो तथा सलाइडहरु प्रस्तुत गर्दै विद्यार्थी भाइबहिनीहरुलाई अहिले समाजमा हुने गरेका वास्तविक कुराहरुलाई भिजुयल मार्फत प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा कक्षा ८ देखि १० सम्मका विद्यार्थी तथा सम्पूर्ण शिक्षक शिक्षिकाको उपस्थिति रहेको थियो।
शसस्त्र प्रहरी वल चण्डीका गणका सहायक प्रहरी उपरीक्षक नरेन्द्र बमको प्रमुख आतिथ्यता भएको उक्त कार्यक्रममा राष्ट्रिय अनुसन्धान पर्वत का अधिकृत देवेन्द्र पाण्डे, सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माका अध्यक्ष राजन जोशी, संस्थापक अध्यक्ष मानकुमारी गिरी, सदस्य शान्ति आचार्य, जिल्ला प्रशासन कार्यालयका कर्मचारी सन्तोष थापाको उपस्थिति रहेको थियो।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष सापकोटाले विद्यार्थी भाइबहिनीहरुको यो उमेर भनेको अलि लहैलहैमा लागेर कुलतमा फस्ने उमेर भएकाले सचेत हुनुपर्ने तथा यस उमेर समूहका विद्यार्थीलाई अरुले लागु पदार्थ ओसारपसारमा प्रयोग गर्ने गरेका उदाहरणहरु प्रशस्तै देखिन्छन् भन्ने कुरा बताउदै भर्खर मात्र मालढुङ्गामा एउटा १४ बर्षको बालक लागु पदार्थ सहित पक्राउ परेको जानकारी गराउदै विद्यार्थी भाइबहिनीहरु समेत सचेत रहन आग्रह गर्नुभएको थियो।
कार्यक्रममको अन्त्यमा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष गणेशमान श्रेष्ठले सम्पूर्ण उपस्थित अतिथिहरुलाई धन्यवाद सहित यो बिशेष कार्यक्रमले विद्यार्थी भाइबहिनीहरुमा सचेतना बढेको कुरा स्पष्ट पार्दै कार्यक्रमको समापन गर्नु भएको थियो। उक्त कार्यक्रमको सञ्चालन एकेडेमिक इन्चार्ज कमल थापाले गर्नुभएको थियो।






