पर्वत : पर्वतको सदरमुकाम कुश्मा बजारमा आज दिउँसो भएको जिप दुर्घटनामा परी पाँच जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार कुश्मा नगरपालिका-५ बडागाउँमा रहेको सशस्त्र प्रहरी बलको गण नजिकैको सडकमा करिब सवा ११ बजे ग१ज ७८५१ नम्बरको जिप दुर्घटनामा परेको हो ।
जिल्लाको मोदी गाउँपालिका-५ बाजुङबाट मलामी बोकेर मोदीबेणी घाटतर्फ जाँदै गरेको जिप सडकबाट फुत्किएर नालीमा धसारिएको छ । दुर्घटनामा परी मोदी गाउँपालिका-५ बाजुङका ३९ वर्षीय झलकराज पौडेल, ४० वर्षीय दलबहादुर मल्ल, ५८ वर्षीय सरिता ठकुरी, ७६ वर्षीय रामबहादुर माझी र ४६ वर्षीय मीना मल्ल घाइते भएका छन् । दुर्घटना परी घाईते भएकाहरुको पर्वत अस्पतालमा उपचार भइरहेको छ ।
चालक ४० वर्षीय ओमसेन ठकुरी सहितका तीनजना भने सकुशल रहेका छन् । जिपमा धनीसमेत रहेका ठकुरी आफूहरूको नियन्त्रणमा रहेको र प्रारम्भिक अनुसन्धानको क्रममा ब्रेक फेल भएको हुन सक्ने देखिएको पनि ट्राफिक प्रहरीले बताएको छ ।






