पर्वतको शंकरपोखरीमा निर्मित दुर्गा मन्दिरको उद्घाटन तथा बास्तु पुजा - News site from Nepal

सरोज वि.क
पर्वत- पर्वतको फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीमा निर्माण गरिएको ुर्गा भवानी मन्दिर उद्घाटन गरिएको छ ।
विश्व हिन्दु महासंघ नेपाल मातृशक्ति परिचालन समिति गण्डकीको आयोजना एवं पर्वतको फलेवास ३, शंकरपोखरी मैदानका करिब २५० शिल्पी समुदायको व्यवस्थापन र राजेन्द्र भुषालको सहयोगमा मन्दिर स्थापना गरिएको हो । स्थानीय हिमलाल सुनारद्वारा निर्मित दुर्गा भवानी मन्दिरको वेदान्त दर्शनका ज्ञाता डा.लेखनाथ आचार्यको सानिध्यतामा फलेवास नगपालिकाका मेयर गंगाधर तिवारीले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा डा. चिद्घन चैतन्य महाराजले मानिस जातिका हिसाबमा शुद्र नभइ कर्मका आधारमा हुनुपर्नेमा जोड दिनुभयो । उहाँले शास्त्रले कही कतै जातीय विभेद नगरेको बताउँदैै कर्म उच्च गर्न सबैलाई आह्वाहन गर्नुभयो । हिजो केही व्यक्तिले आफ्नो चतुर्‍याइँ गरेर शिल्पी समुदायलाई वेदशास्त्र गीता लगायतका धार्मिक पुस्तक पढ्न नहुने भनेर भ्रममात्र फैलाएको उल्लेख गर्दै सबैलाई गीता अनिवार्य पढ्न आह्वान समेत गर्नुभयो ।


कार्यक्रममा फलेवास नगरपालिकाका नगरप्रमुख तिवारीले दुर्गा भबानी मन्दिर निर्माण गर्नु हुने धार्मिक ब्यक्ति हिमालाल सुनारलाई धन्यवाद ज्ञापन गर्दै धार्मिक क्षेत्रको विकासमा मन्दिरको भूमिका महत्वपुणर् हुने बताउनुभयो । आज संविधानले पनि जुन समुदायलाई इच्छा अनुसार धर्म मान्ने छुट दिएको छ त्यो धर्म मान्न पाउने अधिकार दिएको उल्लेख गर्दै हिन्दु धर्म जगेर्न गर्न र हिन्दु धर्म पहिचानका लागि सवैको सक्रियता रहनुपर्ने बताउनुभयो ।
तिवारीले शिल्पी समुदाय माथि उठाउन यो कार्यक्रमले महत्वपूणर् भूमिका खेल्ने बताउनुभयो । उनले नवनिर्मित दुर्गा भवानी मन्दिरका संस्थापक हिमलाल सुनारलाई धन्यवाद दिंदै मन्दिर वरपरका आवश्यक संरचना निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विश्व हिन्दु महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष शंकर खरालले जातीय विभेद अन्त्य गर्ने विश्व हिन्दु महासंघको पहिलो एजेन्डा रहेको बताउनुभयो ।
विश्व हिन्दु महासंघ गण्डकी प्रदेश मातृशक्ति परिचालन समिति अध्यक्ष पार्वता पौडेलले हिमलाल सुनारको सिको गाउँले सबैले गर्नुपर्ने बताउनुभयो । मानिसले राम्रो कर्म गरे, समाजले स्वतः पछ्याउने छ भन्दै उहाँले सबैलाई सत्कर्ममा लाग्न आग्रह गर्नुभयो । सो अवसरमा संस्थापक सुनारलाई दोसल्ला र माला लगाएर सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा फलेवास ३ का वडाध्यक्ष अर्जुन कार्की, ब्राह्मण समाज नेपालका केन्द्रीय सदस्य हरिप्रसाद तिवारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
मन्दिरका संस्थापक हिमलाल सुनारको अध्यक्षतामा भएको कार्यक्रममा वडाका सहायक सचिव कृष्ण बिकले स्वागत र विश्व हिन्दु महासंघ नेपाल गण्डकी प्रदेश मातृशक्ति परिचालन समिति महासचिव गीता आचार्यले संचालन गर्नुभएको थियो ।
कार्यक्रममा विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य भोलाजंग सुवेदी, शालिग्राम घिमिरे, विश्व हिन्दु महासंघ कास्की सांस्कृतिक समिति संयोजक उषा माता सहितको समिति परिवार लगायत स्थानीयको उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रममा पञ्चेबाजा सहित नाचगान समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2022 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!