आज कागतिहार, कागको पूजा गरि मनाईदै - News site from Nepal
आज कागतिहार, कागको पूजा गरि मनाईदै

काठमाडौं : कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार। विभिन्न परिकार खान दिई आइतबार कागको पूजा गरिँदैछ।

सनातन हिन्दु समाजमा यमराजको दूत वा सन्देशबाहक पक्षीको रूपमा कागको पूजा गरिन्छ। कागलाई यमराजको सन्देश सुनाउने दूतका रूपमा पनि लिइन्छ।

कागको आवाजको प्रकृतिअनुसार राम्रा नराम्रा खबरको अनुमान लगाइन्छ। कागले भूकम्प आदि प्राकृतिक विपत्तिको अग्रिम सूचना पनि दिन्छ भन्ने विश्वास गरिन्छ।

काग अत्यन्त चलाख पक्षी हो। अन्नबालीमा लाग्ने कीरा–फट्याङग्रा खाएर किसानको सहयोगी बन्ने र फोहोर वस्तु खाइदिएर वातावरण स्वच्छ राख्ने कारण पनि कागको पूजा गरिएको हो।

कागतिहार आइतबार भए पनि यमपञ्चक शनिबार अपराह्न नै सुरु भएको थियो। त्रयोदशीमै गरिने यमदीपदानको विधि शनिबार साँझमा गरिएको छ।

आइतबार २७ घडी १८ पला अर्थात् अपराह्न ५ बजेर ४ मिनेटसम्म त्रयोदशी छ। त्यसपछि चतुर्दशी लाग्छ। कार्तिक कृष्ण चतुर्दशी पारेर सोमबार बिहान कुकुरको पूजा गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!