पर्वतको ठुलीपोखरीका वडा अध्यक्ष रिमाल, स्वास्थ्यकर्मी, औषधी र न्याना लुगा बोकेर घरदैलोमा - News site from Nepal

पर्वत – अहिले जाडो मौसम छ । जाडो याममा ग्रामीण क्षेत्रमा रहेका नागरिकहरुलाई विभिन्न रोगको संक्रमण हुनसक्छ । तर यातायातको असुविधा, आर्थिक समस्या तथा अन्य कारणले पनि अस्पताल सम्म जान नसकेका हुन सक्छन् । उपचार अभावमा रोग बल्झाएर बस्न बाध्य वडावासीको समस्यालाई मध्यनजर गर्दै पर्वतको कुस्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा घरघरमै पुगेर नागरिकहरुको स्वास्थ्य परिक्षण गर्न थालिएको छ ।


वडा अध्यक्ष झलक रिमालले स्थानीय ठुलीपोखरी प्राथमिक स्वास्थ्य चौकीको एम्बुलेन्समा स्वास्थ्यकर्मी, न्याना लुगा र औषधी बोकेर घरदैलोमै पुग्न थाल्नुभएको हो । उहाँले हरेक घरमा पुगेर सवै नागरिकहरुको स्वास्थ्य परिक्षण गर्ने, आवश्यक औषधी वितरण गर्ने र विपन्नहरुलाई न्याना लुगा समेत वितरण गर्नुभएको छ ।
हरेक आँगनमा पुगेर स्वास्थ्य शिविर संचालन गर्दा विशेषगरी बृद्धबृद्धा र असहाय, असक्त, अपांगता भएकाहरु लाभान्वित भएको अध्यक्ष रिमालले बताउनुभयो । कोहिपनि नागरिक राज्यको आधारभूत सेवासुविधावाट बञ्चित हुन नपरोस भनेर आवश्यकताको आधारमा घरघरमै वा टोटोलमै पुगेर सेवा प्रवाह गर्न थालेको रिमालले बताउनुभयो ।


वडाभित्रका साविकका प्रत्येक वडामा शिविर सन्चालन गरिने भएको हो । पहिलो चरणमा साविक वडा नं. ५, ६, ७, ८ र ९ मा शिविर सम्पन्न गरिसकिएको छ भने दोस्रो चरणमा वडा नं. १, २, ३ र ४ मा पनि घरदैलो शुरु भएको उहाँले बताउनुभयो ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका साथै अन्य सर्वसाधारणहरुको सुगर, व्लड प्रेसर, रुघा, खोकी, निमोनिया लगयात सवैखाले रोगहरुको परिक्षण गरी औषधि समेत वितरण गरिएको छ । गम्भीर खालका बिरामीहरुलाई अस्पताल सम्म पुर्‍याउने व्यवस्था समेत वडाले गरेको छ । वडामै रहेको एम्बुलेन्समार्फत अस्पतालसम्म पुर्‍याउने व्यवस्था समेत गरिएको वडा सचिब टिकाराम पाध्याले जानकारी दिनुभयो । घरदैलो सेवाबाट १ हजार भन्दा बढि वडावासी लाभान्वित भएका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र ठुलीपोखरीका अहेव पठि धामि लगायतका अन्य स्वास्थ्यकर्मिहरुलाई घरदैलो सेवाका लागि परिचालन गरिएको छ । जाडो याममा बाक्ला र न्याना लुगा किन्न नसकेर समस्यामा परेकाहरुलाई आवश्यक कपडाहरु समेत वितरण गरिएको अध्यक्ष रिमालले बताउनुभयो । यस्तो सेवा शुरु गरेपछि नागरिकहरुले राहतको अनुभूति गरेको पाईएको छ । हरेक महिना वा टोल र बस्तीवाट मागको आधारमा शिविर संचालन गर्ने योजना समेत वडाले बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!