फलेवासका प्रमुख र कुश्माकी उपप्रमुखसँग २४ घण्टे स्पष्टीकरण माग - News site from Nepal
फलेवासका प्रमुख र कुश्माकी उपप्रमुखसँग २४ घण्टे स्पष्टीकरण माग

पर्वत : निर्वाचन आचारसंहिता विपरीत चुनावी कार्यक्रममा सहभागी भएको भन्दै जिल्लाको फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी र कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालसँग निर्वाचन आयोगले स्पष्टीकरण माग गरेको छ।

निर्वाचन आचारसंहिता २०७९ को दफा ५ को प्रतिबन्धात्मक वाक्यांशको ४ बमोजिम स्थानीय कार्यपालिका पदाधिकारीहरुले आफू बहाल रहेको स्थानीय तहमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्थाको प्रतिकुल हुने गरी उनीहरू कार्यक्रममा सहभागी भएको प्रमाण सहितका उजुरी परेकोले २४ घण्टा भित्रमा स्पष्टीकरण माग गरिएको जिल्ला निर्वाचन कार्यालय पर्वतले बताएको छ।

फलेवास नगरपालिकाका प्रमुख तिवारी फलेवास नगरपालिका–१ कार्कीनेटामा चुनाव प्रचारप्रसारमा सहभागी भएको दृश्य एभिन्यूज टेलिभिजनबाट प्रसारण भएको भन्दै दृश्य सहितको उजुरी आएकाले त्यस बारेमा २४ घण्टाभित्रमा स्पष्टीकरण माग गरिएको कार्यालयले बताएको छ। जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माका अनुसार आचारसंहिता अनुगमन अधिकृत तथा जिल्ला आचार संहिता अनुगमन समितिमा उजुरी आएपछि आचार संहिताको उल्लंघन भए नभएको वा नभएको भए त्यसको पुष्टि गर्ने आधार सहित स्पष्टीकरण दिन भनिएको छ।

आचारसंहिताको दफा ४ (क) मा सरकारी निकायको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारले पक्ष विपक्षमा प्रयोग गर्न नहुने तथा दफा ५ (ख) मा स्थानीय कार्यपालिकाका पदाधिकारीहरूले वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नीति वा कार्यक्रम घोषणा गर्न स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने व्यवस्था रहेको छ।

तर उपप्रमुख रिजालले उक्त व्यवस्थाको उल्लंघन हुने गरी स्थानीय तहका मतदाताहरूलाई प्रभावित पार्ने गरी सहरी स्वास्थ्य क्लिनिकमा मेडिकल सामग्रीहरू वितरण गरेको भन्ने उजुरी परेको छ। आचारसंहिताको दफा ४ (क) र दफा ५ (ख) को प्रतिकूल हुने गरी काम गरेकाले त्यसको स्पष्टीकरण २४ घण्टाभित्रमा दिन भनिएको जिल्ला निर्वाचन कार्यालयले बताएको छ।

निर्वाचन कार्यालयले आचारसंहिताको उल्लंघन नगर्न अनुरोध गर्दै उल्लंघन गरेको पाइएमा कारबाही प्रक्रिया अगाडि बढाउने बताएको छ। जिल्ला आचारसंहिता अनुगमन समिति पर्वतले यस अगाडि फलेवास नगरपालिका स्थित बाल प्राथमिक विद्यालय, मुडिकुवाका प्रधानाध्यापक छविलाल तिवारीलाई पनि स्पष्टीकरण सोधेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!