पर्वत- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा नेकपा एमाले पर्वतका उम्मेदवारको चुनावी कार्यक्रम कुश्मा नगरपालिका वडा नं. ८ चुवा र वडा नं. ९ कटुवाचौतारीमा सम्पन्न भएको छ ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरी र प्रदेश सभा क का उम्मेदवार भक्त कुँवर सहित एमालेका केन्द्र, प्रदेश, जिल्ला र नगर स्तरीय नेताहरुको सहभागितामा विहान चुवामा विभिन्न बस्तीमा घरदैलो तथा भेटघाट कार्यक्रम गरिएको छ भने दिउँसो कटुवाचौपारीका विभिन्न भागमा घरदैलो गरिएको थियो ।

सो अवसरमा कार्यकर्ता तथा मतदाताहरुलाई सम्वोधन गर्दै प्रतिनिधि सभाका उम्मेदवार पदम गिरीले जनताको सुख र दुःखमा साथ दिने पार्टी एमालेमात्र भएको बताउनुभयो । उहाँले बृद्धबृद्धालाई बृद्धा भत्ता र विरामीलाई उपचार गर्न दिनेदेखि रोजगारी सिर्जना लगायतका कार्यक्रमले एमाले नागरिकको सुख र दुःखमा साथ दिने पार्टी स्थापित भएको बताउनुभयो । समृद्ध नेपाल सुखि नेपालीको अभियान पुरा गर्न अझै बाँकी रहेकाले आगामी निर्वाचनमा नेकपा एमालेलाई बिजयी गराउन आग्रह गर्नूभयो ।
पर्वत जिल्लालाई समृद्ध बनाउने एजेण्डा नेकपा एमालेसँग मात्र भएको बताउँदै विपक्षिहरुलाई गठवन्धन कसरी टिकाउने भन्ने बाहेक अर्को एजेण्डा नभएको बताउनुभयो । विगत पाँच वर्षको अवधिमा पर्वतमा सडक, शिक्षा, स्वास्थ्य, सिंचाई, खानेपानी लगायतका क्षेत्रमा असाधारण विकास भएको बताउँदै केहि अधुरा कामलाई छिट्टै पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा प्रदेश सभा क का उम्मेदवार भक्त कुँवरले विकास निर्माण र समृद्धिको लागि एमालेको बिकल्प नभएको बताउँनुभयो । विगत पाँच वर्षमा एमालले प्रदलेश र संघीय सरकार पुणर् कार्यकाल सम्हाल्न नपाउँदापनि नागरिकले अनुभुती गर्नेगरी थुप्र्रै विकास भएको बताउँदै सुखि जीवन विताउन र मुलुकलाई समृद्ध बनाउनका लागि फेरीपनि एमालेलाई फराकिलो बहुमतले बिजयी गराउन आग्रह गर्नुभयो । मुलुक बनाउनेलाई जिताउने कि बर्बाद बनाउनेलाई जिताउने भन्ने जिम्मा मतदाताको हातमा रहेको बताउँदै विगतका एमाले सरकारका हरेक कामहरुलाई मसिनोगरी विचार गर्न समेत आग्रह गर्नुभयो ।
घरदैलो तथा भेटघाटमा एमाले केन्द्रीय सदस्य कल्पना चापागाई, केन्द्रीय अनुशासन आयोगका सदस्य नेता गणेश शर्मा पौडेल, पूर्व मन्त्री विकास लम्साल, जिल्ला कमिटि अध्यक्ष राजु पौडेल, प्रदेश कमिटि सचिबालय सदस्य मेघनाथ सुवेदी, समानुपातीक उम्मेदवार कमला पन्त, केशकुमारी दमिनि लगायत प्रदेश, जिल्ला र नगरका नेताहरुको सहभागिता रहेको छ । घरदैलोका अवसरमा विगतका वर्षहरुमा एमालेले धेरै राम्रो काम गरेको बताउँदै ती कामहरुको पुणर्ताका लागि फेरीपनि बिजयी गराउनेप्रतिवद्धता जनाएका छन् । उनिहरुले बृद्ध भत्ता पाँच हजार बनाउन पनि एमालेले जित्नुपर्ने भन्दै बृद्धाबृद्धाहरु उत्साहित बनेको नेताहरुले बताएका छन् ।

त्यसैगरी प्रदेश सभा ख का उम्मेदवार मित्रलाल बस्यालको चुनावी कार्यक्रम पैंयु गाउँपालिका वडानं. ७ भोर्लेमा सम्पन्न भएको छ । भोर्लेका विभिन्न बस्तीमा पुगेर बस्याल सहितको एमाले नेताहरुको टोलीले घरदैलो तथा कोणसभा गर्दै नागरिकसँग स्थानीय समस्याका बारेमा छलफल गर्नुभएको थियो ।
सो अवसरमा पैंयु क्षेत्रसँगै समग्र प्रदेश ख को विकासका लागि आफुलाई बिजयी गराउन उहाँले आग्रह गर्नुभयो । गाउँमा सुविधासम्पन्न सडक, शिक्षा, खानेपानी, सिंचाई, स्वास्थ्य लगायतका पूर्वाधारलाई आफुले प्राथमिकता दिने उहाँको भनाई छ । कार्यक्रममा एमाले प्रदेश कमिटि सदस्य देवेन्द्रराज पाण्डे, जिल्ला उपाध्यक्ष पदमपाणी शर्मा, उपसचिब विमल लामिछाने लगायतले सम्वोधन गर्नुभएको थियो ।






