राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान - News site from Nepal

कुश्मा – राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका स्थित वडा नं. ७ राम्जाको पशुपति मावि क केन्द्रबाट मतदान गरेका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा अध्यक्ष तिमिल्सिनाले पशुपति माविबाट मतदान गरेका हुन् ।
तिमिल्सिनाले निर्वाचनमा निर्भिकताका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न सम्पूणर् नेपालीलाई अनुरोध गर्दै निर्वाचन सफलताको शुभकामना व्यक्त गरे ।
पर्वतमा मुख्य निर्वाचन अधिकृत आनन्दप्रसाद श्रेष्ठले पहिलो मतदान गरी जिल्ला भर मतदान प्रक्रियाको शुभारम्भ गरे । उनले कुश्मा नगरपालिका स्थित कुश्मा बजारमा रहेको अस्थायी मतदान केन्द्रबाट प्रतिनिधि सभा सदस्यको समानुपातिक मतपत्रमा मतदान गरी मतदान कार्यक्रमको शुरुवात गरेका हुन् ।


यसैगरी प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङको काफलचौर मावि, अर्का उम्मेदवार अर्जुनप्रसाद जोशीले कुश्मा नगरपालिका वडा नं. ४ मा रहेको नारायण माविवाट मतदान गरेका छन् । भने प्रदेश सभा तर्फ क्षेत्र नं. १ मा एमालेका उम्मेदवार भक्त कुँवरले मोदी गाउँपालिका वडा नं. ५ मा रहेको महेन्द्रशिखरी मावि बाजुङ र गठवन्धनका उम्मेदवार सुदिप कुँवरले कुश्मा-१२ ठुलीपोखरीमा रहेको जनता सुदर्शन माविबाट मतदान गरेका छन् ।
त्यसैगरी प्रदेश सभा क्षेत्र २ मा एमालेका उम्मेदवार मित्रलाल बस्यालले पैंयु-४ मा रहेको जनसेवा संस्कृति मावि हुवास मतदान केन्द्र र गठवन्धनका उम्मेदवार ऋषिकेश तिवारीले फलेवास-४ मा रहेको माटेदेवल माविबाट मतदान गरेका छन् ।
पर्वतमा निर्वाचनका लागि कुल ७६ मतदान स्थलका १ सय ५० मतदान केन्द्र तय गरिएका छन् । यस पटकको निर्वाचनमा पर्वतमा ६० हजार ६ सय ५१ पुरुष र ६१ हजार ९ सय ९८ महिला गरी कुल १ लाख २२ हजार ६ सय ४९ मतदाता रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय सहितको सुरक्षा संयन्त्रले पर्वतमा ३५ मतदान स्थल अति संवेदनशिल, ३१ मतदान स्थल संवेदन शिल र १० मतदान स्थललाई सामान्य सुचीमा बर्गिकरण गरेको छ । (तस्विर पनि छन्)

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!