पर्वत- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वतन्त्र न्यायालयलाई विवादमा ल्याउने काम भएको बताए । जिल्ला समन्वय समिति पर्वतको नवनिर्मित भवनको मंगलवार उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव समयमै टुंगो नलगाएर सिंगो न्यायलयको गरिमा घटाउने काम भएको बताए ।
उनले राजनीतिक दलहरुकै कारण न्यायलय विवादमा आएको भन्दै यो लोकतन्त्रका लागि नराम्रो पक्ष भएको बताए । ‘महाअभियोग लागेको प्रधानन्यायधिश म निर्दोश छु भन्दै सर्वोच्चमै काममै फर्किन्छु भन्छ, सरकार अदालत आउन नदिने तयारी गर्छ, यो कस्तो खालको कानून होे’ तिमिल्सिनाले भने-‘यस्तो अवस्थामा सरकारले ठोस कदम चाल्न नसक्नु असक्षमता हो ।’
तिमिल्सिनाले संविधानको पालनामा दलहरु जिम्मेवार बन्नुपर्ने बताए । अध्यक्ष तिमिल्सिनाले संसदको कार्यकालका विषयमा दलहरुबीचको विवादले नागरिकमा नकारात्मक सन्देश गएको बताए । उनले निर्वाचन आयोगले तोकेको समयावधिमा दलहरुले आ-आफ्नो तर्क गर्नु उचित नहुने भन्दै एउटै संसदका कोहि सांसद कार्यकाल सकिएर निवर्तमान हुने र कोहि बहाल वाला हुँ भन्दै झण्डा हल्लाएर हिडनु जायज नहुने बताए । अर्को प्रसंगमा अध्यक्ष तिमिल्सिनाले निर्वाचन स्वच्छ, स्वन्तन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिए ।
आगामी मंसिर ४ गतेको निर्वाचन भयरहित बातावरणमा सम्पन्न गर्नुपर्ने बताउँदै निष्पक्ष र निर्भयका साथ हुने निर्वाचनवाट मात्रै लोकतन्त्रलाई संस्थात गर्न सकिने बताए ।
उनले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा निकाय र राजनीतिक दलहरु जिम्मेवार बन्नुपर्नेमा जोड दिए । उनले पैसा र बलको आधारमा नभई विकास निर्माणको खाका लिएर चुनावमा जान दलहरुलाई आग्रह गर्नुभयो । अब ठुलो धनराशि खर्चिएर चुनावी प्रतिस्पर्धामा जान्छ भने उ जितेपछि पनि भ्रष्टाचार र अनियमितता बढ्छ , तिमिल्सिनाले भन्नुभयो-‘स्वच्छ प्रतिस्पर्धा गर्नु आवश्यक छ ।’ ‘सवै दलका उम्मेदवारहरु सँगसँगै प्रचारप्रसारमा हिड्ने, आ-आफ्नो एजेण्डा नागरिकसमक्ष पेश गर्ने जसको राम्रो लाग्छ उसैलाई भोट पाएर बिजयी हुन्छ’ यसो गर्न सकिए निर्वाचन स्वच्छ निष्पक्ष हुने बताए । उनले कर्मचारी र सुरक्षा निकायलाई पनि स्वच्छ निर्वाचनका लागि भूमिका खेल्न आग्रह गरे । गण्डकी प्रदेश सरकारका सभामुख नेत्रनाथ अधिकारीले संविधानको सफल कार्यान्वयन भएमात्र संघीयता सफल हुने बताए ।
संविधानमा देखिएका कमी कमजोरीहरुलाई सुधार गर्दै यसको सफल कार्यान्वयन हुनुपर्ने बताउँदै संघ र प्रदेशका अधिकारहरुलाई केन्द्रीकृत गर्न नहुनेमा जोड दिए । कार्यक्रममा संविधान सभा सदस्य अर्जुन प्रसाद जोशी, संविधानसभा सदस्य विकास लम्साल, प्रतिनिधि सभा सदस्य पदम गिरी लगायतले सम्वोधन गरेका थिए । त्यसैगरी नेकपा एमालेका जिल्ला अध्यक्ष राजु पौडेल, नेपाली काँग्रेस पर्वतका उपसभापति चुडामणी शर्मा, माओवादी केन्द्रका जिल्ला संयोजक केशव कुँवर, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष मोती पौडेल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा स्वागत जिल्ला समन्व्य समितिका सहसंयोजक सोम जिसी, आयब्यय समन्वय अधिकारी डिल्लीराज भट्टराई संचालन अधिृकत चुडाबहादुर कार्कीले गर्नुभएको थियो । अध्यक्षता जिल्ला समन्वय समितिका संयोजक विष्णुराम विकले गर्नुभएको थियो ।






