पर्वतको जलजलामा जनप्रतिनिधिहरुबीच बिवाद, निणर्य पुस्तिका नियन्त्रणमा - News site from Nepal

पर्वत –  पर्वतको जलजला गाउँपालिकामा अध्यक्षले एकलौटी रुपमा बिषयगत समितिका संयोजक तोकेपछि बिबाद भएको छ ।
गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले चार वटा बिषयगत समितिका संयोजक एकलौटी रुपमा तोकेर निणर्य गराउने प्रयास गरेपछि बिबाद भएको हो ।
लामो समय देखि बिषयगत समिति गठनमा गठबन्धन र नेकपा(एमाले)का बिचमा सहमति कायम हुन सकेको थिएन । जलजला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष गठबन्धनले जितेको छ भने कार्यपालिका र गाउँसभामा एमालेको बहुमत छ ।
शनिबार एक होटलमा बसेको कार्यपालिका बैठकमा सहमति नभएको भन्दै अध्यक्ष राजुप्रसाद आचार्यले चारवटा बिषयगत समितिका संयोजक तोक्ने तथा बजेट र निति तथा कार्यक्रम समेत एमालेको सहमति नभएपनि ल्याउने निणर्य लेखेपछि एमालेका जनप्रतिनिधीले निणर्यपुस्तिका नियन्त्रणमा लिएका छन ।
अध्यक्ष आचार्यले आर्थिक बिकास समितिमा हरिविकास जिसी, सामाजिक विकासमा गौबहादुर पुन, वातावरण तथा विपदमा बलबहादुर पुन र पूर्वाधार विकास समितिमा टुंगनाथ आचार्यलाई संयोजक तोकेका थिए । सबै संयोजक गठबन्धनका दलबाट तोकिएपछि बिवाद बढेको हो । तर एमालेका प्रतिनिधीहरुले ६ वटा बिषयगत समिति मध्ये गठबन्धन र एमालेले ३/३ वटा समितिको सयोजक बनाउन सहमति जनाएका थिए । एमालेले सामाजिक विकास, आर्थिक विकास र वातावरण तथा बिपद् समितिमा दावी गरेको थियो । तर गठबन्धनमा सामेल नेपाली कांग्रेस र माओबादीले सामाजिक बिकास र आर्थिक बिकास समितिको नेतृत्व नछाडेपछि सहमति कायम हुन नसकेको हो ।
गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले सहमतिको अधिकतम प्रयास गर्दा पनि सहमति कायम नभएकाले ऐनले दिएको अधिकार प्रयोग गरेर समितिको संयोजक ताकेको बताउनुभयो । ‘सहमतिको प्रयास गर्दा पनि बहुमतको अडान नछाडेका कारण अधिकार प्रयोग गरेको हुँ ।’उहाँले भन्नुभयो ‘सहमतिका लागि अझै पनि तयार छु, बहुमतका नाममा सबै निणर्य मान्न सकिदैन ।
नेकपा(एमाले)बाट निर्वाचित कार्यपालिका सदस्य तथा जलजला ५ का वडा अध्यक्ष तिलक जिसीले ३, ३ वटा समितिको नेतृत्व गर्ने गरि सहमतिको प्रयास गर्दा पनि जर्बजस्ती अल्पमतको निणर्य लाद्न खोजेका कारण सहमति हुन नसकेको बताउनुभयो । ‘एकलौटी र मनोमानी हिसाबले अघि बढ्न खोजेका कारण बिबाद भएको हो ।’ उहाँले भन्नुभयो ‘कार्यपालिका र गाउँसभाको बहुमतलाई पेलेरै जाने निति लिए सम्म सहमति हुन्न, सबैलाई मिलाएर जाने दायित्व अध्यक्षको हो ।’ उहाँले गाउँपालिकाकाले संघीय ऐनको प्रतिकुल हुने गरि गाउँपालिका कार्यसम्पादन नियमावली बनाएको र त्यसकै आधारमा अघि बढेमा थप समस्या आउन सक्ने चेतावनी पनि दिनुभयो ।
गाउँपालिकाकाको तर्फबाट निणर्यपुस्तिका कब्जा गरेको आरोपमा एमालेबाट निर्वाचित दुई जना सदस्यलाई काबार्ही गर्न जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दिइएको छ भने प्रबक्ता हरिबिकास जिसीले बिज्ञप्ती समेत निकालेर बिरोध जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2022 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!