पर्वत – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा पर्वत एमालेका उम्मेदवारहरुको चुनाव प्रचार प्रसार कार्यक्रम बुधवार लेखफाँट र शालिजामा सम्पन्न भएको ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरी र प्रदेश क का उम्मेदवार भक्त कुँवरले मंगलवार माझफाँटवाट अभियान शुरु गर्नुभएको हो । हिजो माझफाँट र बाँसखर्कमा कार्यक्रम गरिएको थियो । आज बुधवार लेखफाँटको कुवापानी, अन्नेचौर, रातमाटा, थुमडाँडा, गैरीगाउँ लगायतका स्थानमा भेटभाट तथा कोणसभा सम्पन्न भएको छ भने शालिजाका भोटेडाँडा, लोप्रे, लगायतका ठाउँमा कार्यक्रम गरिएको छ ।
सो अवसरमा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले पाँच वर्ष अघि जनताले दिएको मतका कारण पर्वतमा धेरै विकास निर्माणका काम अघि बढाउन सफल भएको बताउँदै ती कामको पुणर्ताका लागि फेरीपनि बिजयी गराउनेमा आशावादी रहेको बताउनुभयो । उहाँले एमाले सरकारको पालादेखि शुरु भएको मिलनचोक- शालिजा-लेखफाँट- नागी सडक डिपिआर सम्पन्न भई कालोपत्रेको चरणमा पुगेको बताउनुभयो ।
उहाँले एमाले सरकारले पुरै बाटो कालोपत्रेका लागि बजेट बिनीयोजन गरेको भएपनि देउवा सरकारले बजेट कटौती गरेको बताउँदै उक्त बाटो कालोपत्रे जसरीपनि कालोपत्रे सम्पन्न गरिछाड्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले सदरमुकामवाट टाढा रहेपनि शालिजा र लेखफाँट क्षेत्र धेरै सम्भावना बोकेको ठाउँ भएकाले यस क्षेत्रको सडक, विद्युत, खानेपानी, शिक्षा र स्वास्थ्यको विकासका लागि आफु सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा प्रदेश सभा क का उम्मेदवार भक्त कुँवरले आफु लामो समयदेखि पार्टी राजनीतिमा रहँदा र तत्कालीन जिल्ला विकास समितिको संयन्त्रमा रहँदा यस क्षेत्रमा सडक, खानेपानी तथा अन्य विकास निर्माणका कार्यमा सक्रिय रहेको बताउँदै समृद्ध पर्वत निर्माणका लागि आफुलाई बिजयी गराउन आग्रह गर्नुभयो । उहाँले आफुले बिजयी भएर प्रदेशमा गएपछि यस क्षेत्रका नागरिकको अपेक्षा पुरा गर्ने प्रतिवद्धा समेत जनाउनुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य कल्पना चापागाई, पूर्व मन्त्री विकास लम्साल, एमालेका नेता गणेश शर्मा पौडेल, जिल्ला अध्यक्ष राजु पौडेल, प्रदेश कमिटि सदस्य, शान्त पौडेल, दुर्गाप्रसाद शर्मा लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
त्यसैगरी प्रदेश सभा ख का उम्मेदवार मित्रलाल बस्यालको कार्यक्रम सरौखोलामा सम्पन्न भएको छ ।

बस्याल सहितको एमाले नेताहरुको टोलीले पैंयु गाउँपालिका वडा नं. ६ का सरौखोलाका काहुँ, वैथोक, मुसुरवारी, सित्ले, साधने लगायतका ठाउँमा घरदैलो र कोणसभा सम्पन्न गरेको छ । हरेक टोलमा नागरिकहरुको उत्साहजनक सहभागिता रहेको निर्वाचन प्रचार प्रसार संयोजक जीवन उच्चै ठकुरीले जानकारी दिनुभयो । भोली भोर्लेमा कार्यक्रम रहने भएको छ ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि उपसचिब मन्जु अधिकारी, एमाले पर्वतका उपाध्यक्ष पदमपाणी शर्मा, एमाले प्रदेश कमिटि सदस्य देवेन्द्रराज पाण्डे, जिल्ला कमिटि सचिबालय सदस्य जीवन उच्चै ठकुरी लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।






