पर्वत- जिल्ला निर्वाचन कार्यालय पर्वतले स्थानीय तहको निर्वाचनका उम्मेदवारहरुलाई सात दिन भित्र स्पष्टिकरण दिन ताकेता गरेको छ ।
कार्यालयले निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारहरुको नामावलीनै सार्वजनिक गर्दै एक साता भित्र निर्वाचन कार्यालयमा स्पष्टिकरण पेश गर्न निर्देशन गरेको हो । निर्वाचनको परिणाम घोषणा भएको ३० दिन भित्र खर्च विवरण बुझाउनुपर्ने कानूनी प्रावधान रहेपनि तीन महिना वितिसक्दा समेत खर्च विवरण नबुझाउने उम्मेदवारहरुको सुचि बुधवार सार्वजनिक गरिएको छ ।
जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले तोकिएको समय भित्र के कति कारणले खर्च विवरण बुझाउन नसकिएको हो ? तोकिएको समयभित्र खर्च विवरण नबुझाएमा तपाईलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २६ बमोजिम किन कारवाही हुनुु नपर्ने ? भन्ने प्रश्नको स्पष्टिकरण बुझाउन भनिएको बताउनुभयो ।
उहाँका अनुसार पर्वतमा स्थानीय तहमा उम्मेदवार बनेका ८६० जना उम्मेदवार मध्ये तोकिएको समयावधिभित्र ४८१ जनाले खर्च विवरण बुझाएका छन् । अझैसम्म पनि ३ सय ७९ जनाले नबुझाएको निर्वाचन अधिकारी शर्माले जानाकारी दिनुभयो ।
एक सातासम्म पनि विश्वासिलो स्पष्टिकरण नबुझाएमा कानून अनुसार कारवाही गरिने र जविाना समेत हुने भएको छ । त्यसैगरी भविष्यमा हुने निर्वाचनहरुमा उम्मेदवार बन्नका लागि अयोग्य ठहरिने समेत कार्यालयले जनाएको छ । यो खबर धौलागिरि सञ्चार साप्ताहिकमा छ ।
यसैबीच जिल्ला निर्वाचन कार्यालयले अहिले मंसिर ४ गते तोकिएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको तयारी गरेको जनाएको छ । उक्त निर्वाचनका लागि पर्वतमा १ लाख २४ हजार ५ सय मतदाता कायम हुने कार्यालयले जनाएको छ । गत वैशाख ३० को निर्वाचनमा १ लाख २२ हजार ५० मतदाता थिए । त्यसपछि गरिएको मतदाता नामावली संकलन र यस अघि नामावली संकलन भएर पनि उमेर नपुगेका गरी ३ हजार ४ सय ५० जना थप भएको कार्यालयले जनाएको छ । यो खबर धौलागिरि सञ्चार साप्ताहिकमा छ ।






