पर्वतको ठुलीपोखरीमा अनलानइनवाट व्यक्तिगत घटना दर्ता शुरु - News site from Nepal

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठूलीपोखरीमा अनलाईनवाट व्यक्तिगत घटना दर्ता कार्य शुरु भएको छ । वडा कार्यालयले बुधवारदेखि अनलाईनवाट व्यक्तिगत घटनाहरुको अभिलेख राख्न थालेको हो ।
बुधवार प्रवेश आचार्यको जन्म दर्ता गर्दा सेवाको शुभारम्भ गरिएको हो । उनका अभिभावक प्रकाश आचार्यलाई पहिलो पटक जन्मदर्ता प्रमाणपत्र वितरण गरिएको हो । वडा सचिब टिकाराम उपाध्याय र कुश्मा नगरपालिकाका कृषि शाखा प्रमुख बलबहादुर जिटीले जन्मदर्ता प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
यस अघि परम्परागत शैलीमा गरिँदै आएको घटना दर्ता अवदेखि भने अनलाईनबाटै गरिने भएको छ । अनलाईनवाट दर्ता गर्दा अभिलेखहरु चुस्त दुरुस्त राख्न सकिने, दोहोरोपना नहुने, पारदर्शिता हुने र कर्मचारीहरुलाई काम गर्न समेत सहज हुने सामाजिक परिचालक रमेश पौडेलले जानकारी दिनुभयो । कुश्मा नगरपालिकाका सदरमुकाम आसपासका अन्य वडाहरुमा यस अघिनै अनलाईन समेत शुरु भएपनि ठुलीपोखरीमा नयाँ जनप्रतिनिधि आएपछि सेवा सूचारु गरिएको हो ।
वडा सचिब टिकाराम उपाध्यायले अनलाईनवाट घटना दर्ता शुरु भएपछि सेवाग्राहीहरुलाई छिटो छरितो र त्रुटिरहित ढंगवाट सेवा दिन सकिने बताउनुभयो । उहाँले यसवाट कर्मचारी र सेवाग्राही दुवैलाई सहज हुनुका साथै कागजातहरु हराउने, मासिने, च्यातिने, जल्ने र नष्ट हुने जस्ता समस्या नहुने बताउनुभयो ।
वडा नं. १२ का अध्यक्ष झलक रिमालले वडा कार्यालयका सेवा सुविधालाई छिटो छरितो र नागरिकमैत्री बनाउन पहल गरिएको बताउनुभयो । उहाँले निर्वाचन अघि नागरिकसँग गरेका बाचाहरु पुरा हुदै जाने विश्वास समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!