विद्युत वितरण केन्द्र पर्वतलाई फलेवासका नगरप्रमुखको ध्यानाकर्षण - News site from Nepal

पर्वत – नेपाल विद्युत प्राधिकरणको पर्वत बितरण केन्द्रले फलेवास नगरपालिकाको वडा नम्बर ७ लिमिठाना र ११ पाङराङ क्षेत्रमा भइरहेको विद्युतिकरणको हेरफेरप्रति नगरप्रमुख गंगाधर तिवारीले पर्वत बितरण केन्द्रलाई गम्भिर ध्यानाकर्षण गराउनुभएको छ । फलेवास फिडरबाट लिमिठानामा बितरित लाइनलाई बदलेर लुङ्खु सवस्टेसनबाट ल्याउन लागिएको, कम क्षमताको ट्रान्सफर्मर राख्न लागेको कुरा लिमिठानाबासीको हितबिपरित रहेको भन्दै पर्वत बितरण केन्द्रको ध्यानाकर्षण गराउनुभएको हो ।
बुधबार नगरप्रमुख गंगाधर तिवारीसहित प्रवक्ता अच्यूत तिवारी लगायतको टोली पर्वत बितरण केन्द्रको कार्यालयमै पुगेर बितरणकेन्द्रका निमित्त प्रमुख रञ्जना कट्टेल तथा प्राविधिक प्रमुखलाई समेत उक्त कामप्रति ध्यानाकर्षण गराउनुभएको हो । लुङ्खु सवस्टेसनबाट लाइन बितरण गरेको खण्डमा बेलाबेला हुने समस्या समाधानमा प्राविधिक टोली समयमै आउन नसक्ने तथा कम क्षमताको ट्रान्सफर्मर राख्दा ससाना उद्योगधन्दा सञ्चालन गर्न समस्या हुने भएकोले उक्त कार्य नगरबासीको हितबिपरित भएको भन्दै त्यस्तो हुन गएमा नगरबासी आन्दोलन गर्न बाध्य हुने उहाँले बताउनुभयो ।
नगरबासीको हितबिपरितका कामको बिरुद्धमा आफु सधैं लागिरहने बताउनुभयो । त्यस्तै पाङराङको सुलिकोटमा नया ट्रान्स्फरमर जडान गरेर थ्री फेज्सहितको लाइन बितरण तत्कालै गर्न पनि उहाँँले आग्रह गर्नुभयो । अहिलेसम्म थ्रि फेजको लाइन समेत नहुँदा त्यहाँका बासिन्दालाई समस्या परेको बताउँदै नगरप्रमुख तिवारीले त्यसका लागि प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई समेत केहि दिनअघि आफुले आग्रह गरेको र घिसिङले तत्कालै फोनमार्फत पर्वत बितरण केन्द्र प्रमुखलाई निर्देशन दिएको अवस्थामा अझै काम शुरु नभएकोप्रति चासो व्यक्त गर्नुभयो ।
पर्वत बितरणकेन्द्रकी निमित्त प्रमुख रञ्जना कट्टेलले प्राधिकरणले आम नागरिकको हितबिपरित काम नगर्ने प्रतिवद्धता जनाउँदै लिमिठाना र पाङ्राङको विषयमा छिट्टै सम्बन्धित स्थानमै पुगेर समस्या समाधान गरिने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!