पर्वत –आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनका लागि उमेदवारी छनौटपछि राजनैतिक दलहरुमा असन्तुष्टि देखिएको बेला नेकपा(एमाले) पर्वतमा भने पार्टीका आकाँक्षीहरु नै प्रस्ताबक र समर्थक बनेका छन ।
उमेदवारी चयनका बिषयमा गठबन्धनको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसमा चरम असन्तुष्टि देखिएपनि एमालेमा भने दाबेदार नेताहरु नै प्रस्ताबक र समर्थक बसेर पार्टी निणर्यको पक्षमा उभिएका हुन ।
नेकपा(एमाले)ले पर्वतबाट प्रतिनिधीसभा सदस्यमा पार्टीका केन्द्रिय सदस्य तथा निर्वतमान साँसद पदम गिरीलाई उमेदवार बनाएको छ भने प्रदेशसभा क मा गण्डकी प्रदेश कमिटी सचिबालय सदस्य भक्त कुवँर र प्रदेशसभा ख मा पनि गण्डकी प्रदेश कमिटीका सचिबालय सदस्य मित्रलाल बस्याललाई उमेदवार बनाएको छ ।
प्रतिनिधीसभा सदस्य पदमा पदम गिरी संगै प्रतिनिधीसभाका लागि दाबेदार संबिधानसभा सदस्य तथा पार्टी केन्द्रिय सदस्य कल्पना चापागाई प्रस्ताबक र अर्का दाबेदार संबिधानसभा सदस्य तथा पुर्व मन्त्री बिकास लम्साल समर्थक बस्नुभएको छ । प्रतिनिधीसभाका दाबेदार बिकास लम्सालले पार्टीमा उमेदवार हुनका लागि आफुँले पनि दाबेदारी गरेपनि पार्टीले निणर्य गरेपछि उमेदवारलाई जिताउन लाग्नुपर्ने सबै नेता र कार्यकर्ताको दायित्व भएको बताउनुभयो । पार्टीका उमेदवारलाई जिताउँदा मात्रै पार्टी बलियो बन्ने र देशमा पनि एमालेको निती अनुसार आर्थिक सम्बृद्धिको सपना साकार बनाउन सहयोग पुग्ने उहाँको भनाई छ । ‘पार्टीले निणर्य नगर्दा सम्म मेरो पनि शसक्त दाबेदारी थियो।’ उहाँले भन्नुभयो ‘निणर्य भैसकेपछि अब पार्टीका साझा उमेदवारलाई जिताउनका लागि सबै शक्ति र समाथ्र्य लगाउन आवश्यक छ।’
यसैगरी प्रदेशसभा क मा एमालेका उमेदवार भक्त कुवँरको प्रस्ताबकमा दाबेदार नेता गण्डकी प्रदेश सचिबालय सदस्य मेघनाथ सुबेदी र अर्का दाबेदार तथा जिल्ला कमिटीका सचिब गोबिन्द पहाडी समर्थक बस्नुभएको छ ।
प्रदेशसभा ख मा एमालेका उमेदवार मित्रलाल बस्यालको प्रस्ताबकमा दाबेदार समेत रहनुभएका जिल्ला अध्यक्ष राजु पौडेल र समर्थकमा अर्का दाबेदार एमाले केन्द्रिय उद्योग ब्यापार बिभागका सचिब सुन्दर भुसाल रहनुभएको छ ।
नेकपा(एमाले)मा दाबेदार नेताहरु नै प्रस्ताबक र समर्थक बसेपछि उमेदवारी छनौटमा देखिएको असन्तुष्टि हटेर गएको देखिएको बेला पाँचदलीय गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसमा भने असन्तुष्टि देखिएको छ । प्रतिनिधीसभा र प्रदेशसभाका लागि समेत दाबेदार रहनुभएका कांग्रेसका पुराना नेता नबराज गुरुङ पशुपतिनाथ मन्दिर पुगेर भवगन संग किन यस्तो अन्याय गरेको भनेर रोष प्रकट गरेको भन्दै सामाजिक सञ्जालबाट असन्तुष्टि ब्यक्त गर्नुभएको छ भने कांग्रेसका जिम्बेवार नेताहरु उमेदवारी दर्ता गर्ने क्रममा सहभागी समेत हुनुभएन । टिकटको प्रतिष्पर्धामा रहनु भएका नेताहरु नवराज गुरुङ, रामकृष्ण मल्ल, खगेन्द्र तिवारी, राम शर्मा पौडेल सहभागी नबन्नु मात्रै होइन नेपाली कांग्रेस बिपीबाट कांग्रेसको पकेट क्षेत्रका उमेदवारहरु चुनाब लड्नु मात्रै कांग्रेसकै स्वतन्त्र उमेदवार अरुण पौडेलले उमेदवारी फिर्ता नलिनुलाइ असन्तुष्टिको रुपमा लिएको छ ।






