पर्वत – जिल्लाको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा निर्माण सम्पन्न भएको प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले भवनको उद्घटन गर्नुभएको हो ।
गण्डकी प्रदेश सरकारको नियमित बजेट बाट निर्माण सम्पन्न उक्त प्रहरी चौकीमा प्रहरी कार्यालय भवन, मेष, ब्यारेक लगायतका संरचनाहरु निर्माण गरिएको हो । उद्घाटन पश्चात प्रहरी नायव महानिरीक्षक जोशीले उक्त भवनको निरीक्षण तथा अवलोकन समेत गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक जोशीले प्रहरी आम नागरिकका समस्या समाधनका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नुभयो ।
कार्यक्रम पश्चात प्रहरी नायवमहानिरीक्षक जोशी लगायत अन्य सहभागिहरुले नवनिर्मित भवन परिसरमा विभिन्न प्रजातिका वृक्षारोपण समेत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा गण्डकी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यलयका प्रमुख प्रहरी उपरीक्षक गोबिन्द अधिकारी, पर्वत जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, कुश्मा नगरपालिकाका उप- मेयर स्वस्थानी रिजाल, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपाने, पर्वत जिल्ला स्थित रहेका बिभिन्न सुरक्षा निकायका प्रमुखहरु, स्थानिय जनप्रतिनिधि लगायत आम नागरिकहरुको उपस्थिति रहेको थियो ।






