पर्वत – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले शिर्ष दलहरु नसुध्रिएसम्म मुलुक समृद्ध नबन्ने बताउनुभएको छ ।
पर्वत सदरमुकाम कुश्माबजारमा मंगलवार आयोजित कार्यकर्ता भेलालाई सम्वोधन गर्दै अध्यक्ष लिङ्देनले राजनीतिक दलका गलत क्रियाकलापहरुले नै मुलुक समस्यामा पर्दै गएको बताउनुभयो । उहाँले भ्रष्टाचार र अनियमितता मौलाउँदै गएको प्रति चिन्ता व्यक्त गर्दै शिर्ष दलहरुले भ्रष्टाचारलाई संस्थागत गर्दै लगेको समेत आरोप लगाउनुभयो । अध्यक्ष लिङ्देनले काँग्रेस, एमाले, माओवादीले तीस वर्ष भन्दा बढि शासन गरेपनि नयाँ शब्द बाहेक काममा नयाँपन ल्याउन नसकेको बताउनुभयो ।
‘ठुला दलहरुसँग न मुलुक बनाउने स्पष्ट खाका छ, न रोजगारी सिर्जना, कलकारखाना संचालन, बढ्दो युवा पलायनदर घटाउने कुनै योजना छैन’ अध्यक्ष लिङ्देनले भन्नुभयो -‘जवसम्म निर्वाचनमार्फत ठुला दलहरु पराजित हुँदैनन् तबसम्म यहि अवस्थाले निरन्तरता पाईरहन्छ ।’ ठुला दलहरुको पार्टी कार्यालय र कार्य समिति मात्र फरक रहेको तर भ्रष्टाचार गर्ने र देशलाई लुट्ने बेला एउटै दलजस्तै हुनेगरेको बताउनुभयो ।
उहाँले गठवन्धनको नाममा मुलुकको अस्तित्व समाप्त पार्ने र लोकतन्त्र धरापमा पार्न खोजिएको आरोप समेत लगाउनुभएको छ । नीति, विचार र सिद्धान्त नमिल्ने दलहरु एकठाउँमा उभिनु भनेको मिलिजुली खानका लागि बाहेक मुलुकका हितका लागि केहि उपलव्धि नहुने बताउनुभयो । जति शासन गरेपनि एक हजार जना युवा युवतीले रोजगारी पाउने ठाउँ खोल्न सकेका छैनन्, दैनिक हजारौको संख्यामा युवायुवती विदेशिन बाध्य छन् उहाँले भन्नुभयो ‘मुलुक विदेशीहरुको चंगुलमा फसाउने र लम्पसार पर्ने बाहेक केहि हुन सकेको छैन ।’
उहाँले आगामी मंसिर ४ गतेको निर्वाचनमा राप्रपालाई मत दिएर पहिलो दल बनाउन आग्रह गर्नुभयो । मुलुकको समृद्धि र विकासको स्पष्ट खाका सहित भ्रष्टाचार र अनियमितताको विरुद्धमा आफ्नो पार्टी निरन्तर लागि परेको बताउँदै आगामी निर्वाचनमा मत दिएर बिजयी बनाउन समेत उहाँले आग्रह गर्नुभयो ।
अध्यक्ष लिङ्देनले यस अघि पर्वतको मोदी गाउँपालिकामा राप्रपाको पालिका स्तरीय कार्यालयको उद्घाटन समेत गर्नुभएको थियो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी ठुलो संख्यामा कार्यकर्ताहरु राप्रपामा प्रवेश गरेका थिए ।






