पर्वत – मंशीर ४ मा सम्पन्न निर्वाचनमा सक्रिय सहभागि भएर गठबन्धनमा आवद्ध राजनीतिक दलहरुका उम्मेदवारलाई मतदान गनुभएकोमा उम्मेदवार र नेताहरुले धन्यबाद व्यक्त गर्नुभएको छ ।
गठबन्धनमा आवद्ध दलहरुमध्येको अगुवाई गरेको नेपाली कांग्रेस फलेवास नगरसमितिको आयोजनामा फलेवास–५ खानीगाउँमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार अर्जुनप्रसाद जोशीले सम्पुर्ण मतदाताहरुलाई धन्यबाद ज्ञापन गर्दै चुनावी नतिजामा आफु थोरै मत अभावका कारणले अनुमोदन हुन नसके पनि आफु जनताको काम गर्न कहिल्यै पछि नपर्ने बताउनुभयो ।
उहाँले आफु निर्वाचनमा हारे पनि जनताको काममा कहिल्यै हार नखाई लागिरहने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रमा फलेवासका नगरप्रमुख गंगाधर तिवारीले आफु पाँच वर्षसम्म जनताको सेवकका रुपमा काम गर्न फलेवासबासी जनताले अनुमोदन गरेको स्मरण गर्दै यो समय खेर नफाली जनताकै घरदैलोमा निरन्तर खटिरहने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस नेतृ एवं गण्डकी प्रदेशसभा सदस्य रेखा गुरुङ, नेकपा समाजबादीका नेता मोतीप्रसाद पौडेल, नेकपा माओबादीका नेता प्रेम राना, फलेवास–४ का अध्यक्ष एवं प्रवक्ता अच्यूत तिवारी लगायत नेपाली कांग्रेस सहित गठबन्धनमा आवद्ध राजनीतिक दलका नेता, शुभेच्छुक तथा भातृ संस्थाका पदाधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो ।
नेपाली कांग्रेस फलेवास नगर सभापति हिरामणी सापकोटाका अध्यक्षतामा भएको कार्यक्रम नगर सचिव धनबहादुर थापाले सञ्चालन गर्नुभएको थियो । सोहि कार्यक्रमका अवसरमा नगरप्रमुखको हैसियतमा सरकारी प्लेटको गाडी उपयोग नगर्दा फलेवास नगरपालिका र नगरबासीकै मानमर्दन भएको भन्दै फलेवासका नगरप्रमुख गंगाधर तिवारीलाई नगरकै सवारी उपयोग गर्न सरोकारवालाहरुले दबाब दिएका छन् ।
नगरप्रमुख गंगाधर तिवारीले व्यक्तिगत गाडी चढेर यात्रा गर्दा नगरप्रमुख भनेर पहिचान गर्न नसकिएको, नगरकै कामका लागि प्रदेश र केन्द्रका बिभिन्न मन्त्रालय जाँदा सहज प्रवेश नपाएको लगायतका कारणले नगरप्रमुखले नगरकै सवारी उपयोग गर्न बिभिन्न राजनीतिक दलका नेता तथा मतदाताहरुले दबाब दिएका हुन् । नगरप्रमुख नगरभित्रै यात्रा गर्दा पनि नगरप्रमुख भनेर पहिचान गर्न पनि नगरकै सवारी उपयोग गर्न बक्ताहरुले जोड दिएका हुन् ।






