पर्वतमा गण्डकी प्रदेश स्तरीय सातौ पर्वत महोत्सव हुँदै - News site from Nepal
पर्वतमा गण्डकी प्रदेश स्तरीय सातौ पर्वत महोत्सव हुँदै

पर्वत – समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि सातौ पर्वत महोत्सव गरिने भएको छ ।
गण्डकी प्रदेश स्तरीय व्यापार मेला तथा सातौँ पर्वत महोत्सव आगामी माघ ११ गतेदेखि २१ गतेसम्म आयोजना गरिएको हो । पर्वत उद्योग बाणिज्य संघले शुक्रवार पत्रकार सम्मेलन गरी महोत्सवको तयारीबारे जानकारी दिएको छ ।
महोत्सव सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु पनि बनाईएको छ । महोत्सव आउन झण्डै डेढ महिना बाँकी रहँदा प्रचार प्रसार, आर्थिक संकलन लगायतका तयारीहरु भैरहेको मुल संयोजक गोपी अधिकारीले जानकारी दिनुभयो ।
हरेक तीन तीन वर्षमा हुँदै आएको पर्वत महोत्सवमा यस वर्ष झण्डै २ सय ५० वटा स्टल रहने भएका छन् भने पाँच लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको छ । महोत्सवमा रु. ५ करोड भन्दा बढिको कारोबार गर्ने अपेक्षा लिईएको छ । समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन, पर्वत जिल्लाका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलको प्रचार प्रसार, पर्वत जिल्लामा उत्पादित बस्तुहरुको प्रवद्र्धन र प्रचार प्रसार, लोक संस्कृतिको संरक्षण र सम्वद्र्धन, स्थानीय उत्पादन, उद्योग, व्यापार र व्यावसायको विस्तार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने महोत्सवको उद्धेश्य रहेको छ ।
महोत्सवमा विश्वकै अग्लो बञ्जिजम्प, जिपफ्लाईङ्ग, कालीगण्डकी नदिमा र्‍याफ्टीङ, नेपालकै अग्ला र लामा झोलुङ्गे पुल, कुश्मा बलेवा यान्त्रिक पुल, गुप्तेश्वर र अलपेश्वर गुफाको अबलोकन, अल्लोको कपडा, लोक्ताको नेपाली कागज, सुन्तलाको जुस, मह, जडिवुटी, अदुवा र लप्सीका परिकारहरुको प्रदर्शनी मुख्य आकर्षण रहेका छन् ।
त्यस्तै झाँकी प्रर्दशनी तथा जिल्ला स्थित विभिन्न जनजातिहरुका फरक फरक साँस्कृति कार्यक्रम, पुरुष भलिवल प्रतियोगिता, विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, भजन प्रतियोगता, छेलो प्रतियोगिता, खुल्ला दौड, तिर हान्ने प्रतियोगिता राष्ट्रिय खानाका परिकार, स्थानीय उत्पादनहरुको विक्रि तथा औद्योगिक प्रदर्शनी, शैक्षिक, कृषि र फोटो प्रदर्शनी समेत गरिने भएको छ ।
त्यस्तै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कारको व्यवस्था, पनि गरिने भएको छ । महोत्सवमा उद्योग बाणिज्य संघका सदस्यहरु, लघु घरेलु कृषि तथा महिला उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरुको स्टल भाडामा २५ प्रतिशत र गण्डकी प्रदेशका उद्योग बाणिज्य संघको सिफारीसमा आएका व्यावसायीलाई १० प्रतिशत छुट दिईने भएको छ ।
महोसत्व अवलोकन गर्नका लागि दर्शकहरुलाई रु १ सय रुपैयाको टिकट र विद्यार्थीलाई ४० प्रतिशत छुटको व्यवस्था गरिएको आर्थिक संयोजक ठाकुरवि पौडेलले जानकारी दिनुभयो । महोत्सववाट भएको आम्दानीले महोत्सव स्थल तथा खेल मैदानलाई व्यवस्थित गर्ने, पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम संचालन गर्ने, लघु तथा घरेलु उद्योगवाट उत्पादित सामानहरुको बजारीकरणका लागि सहयोग गर्ने, उद्योग बाणिज्य संघको कल्याणकारी कोषलाई बृद्धि गर्ने लगायतका उद्धेश्य रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!