विद्युत वितरण केन्द्र र धाईरिङबासी बीच सात बुँदे सहमति - News site from Nepal
विद्युत वितरण केन्द्र र धाईरिङबासी बीच सात बुँदे सहमति

पर्वत : पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा सोमबार ‘हाइ भोल्टेज’ को विद्युत् प्रवाह हुँदा भएको क्षतिको विषयमा सातबुँदे सहमति भएको छ।

सोमबार बिहान धाइरिङको धारापानी, ठूलास्वाँरा, माझस्वाँरा र शिरुवार क्षेत्रमा टाँगिएको विद्युतीय लाइन ‘हाइ भोल्टेज’ को विद्युत् प्रवाह हुँदा ५० वर्षीया सीता केसीको मृत्यु भएको थियो भने अरू ११ जना घाइते भएका थिए। ‘करेन्ट’ मा परेर स्थानीयले पालेका ११ वटा बाख्रा मरेका थिए।

मंगलबार जिल्ला प्रशासन कार्यालय पर्वतमा सहायक प्रमुख जिल्ला अधिकारी मोहन थापा सहित नेपाल विद्युत् प्राधिकरणअन्तर्गत पर्वत वितरण केन्द्रका प्रमुख शिवनारायण गोशली, जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्य, उपाध्यक्ष दीपक आचार्य, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकी, जलजला गाउँपालिकाका जनप्रतिनिधिहरू, पीडित परिवारका व्यक्तिहरू लगायतको उपस्थितिमा समाधानका लागि सातबुँदे सहमति भएको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले  बताए।

उनका अनुसार ‘करेन्ट’ लागेर मृत्यु भएकी सीताको परिवारका तर्फबाट एकजनालाई ज्यालादारीमा पर्वत वितरण केन्द्रले रोजगारी ‘ग्यारेन्टी’ गर्ने निर्णय भएको छ। प्रावधानमा ‘करेन्ट’का कारण मानवीय क्षति भएमा पाँच लाख रुपैयाँ उपलब्ध गराउने भनिए पनि पीडित पक्षले त्योभन्दा बढी माग गरेका कारण घटनाको अध्ययन तथा समाधानका लागि प्रदेशबाट आउने समितिलाई पाँच लाखभन्दा बढी रकम उपलब्ध गराउन सिफारिस गर्ने सहमति भएको छ।

घाइते भई अस्पतालमा उपचाररत ११ जनाको उपचार खर्च विद्युत्‌ले नै बेहोर्ने, क्षति भएका मिटर पर्वत वितरण केन्द्रले जडान गरिदिने तथा जलेका ‘वायरिङ’ हटाएर नयाँ बनाउने काम पनि विद्युत् प्राधिकरणले गर्ने भएको छ।

यस्तै प्रदेशबाट समिति निर्माण गरेर पशु चौपायामा भएको क्षतिबारे उपयुक्त रकमको सिफारिस गर्ने बैठकमा सहमति भएको छ। अहिलेको प्रावधानमा बाख्राका लागि दुई हजार रुपैयाँ दिने भनिएको तर आजभोलि औसतमा एउटा बाख्राको मूल्य १२-१३ हजार रहेकाले प्रदेशबाट बन्ने समितिले उपयुक्त मूल्य निर्धारण गरी कृषकलाई घाटा नपार्ने बुँदामा कुरा मिलेको छ।

अहिलेसम्म म्याग्दी जिल्लाको ‘लाइन’सँग जोडिएर प्रसारण भएको विद्युत्‌लाई काटेर जलजला गाउँपालिकाको लागि छुट्टै फिडर निर्माण गरेर विद्युत् वितरण गर्ने, पर्वतको मिलनचोकमा ‘नो लाइट’ अफिस निर्माण गरेर चौबीसै घण्टा त्यहीँ रहने फोन सम्पर्कमा रहने गरी स्थायी कर्मचारीको व्यवस्थापन गर्ने कुरामा पनि सहमति भएको अध्यक्ष आचार्यले बताए।

‘मर्मत तथा व्यवस्थापन गर्नुपर्ने लाइनको काम अविलम्ब शुरु गर्ने तथा क्षतिपूर्तिका काम पनि तत्कालै अगाडि बढाउने गरी सबैको बीचमा सातबुँदे सहमति भएको छ। जोखिमपूर्ण अवस्थामा रहेका लाइनदेखि अलर्ट अवस्थामा रहने कर्मचारीसम्मको कुरा भएको छ’, उनले भने, ‘जे हुनु भइहाल्यो तर समयमै ध्यान दिन सकेको भए यो घटना नहुन सक्थ्यो। मिलनचोकमा रहने नो लाइट र त्यहाँ रहने कर्मचारीले अबदेखि अलर्ट रूपमा काम गर्ने भन्ने कुरा भएको छ।’

‘हाइ भोल्टेज’ प्रवाह गरेको ‘ट्रान्सफर्मर’बाट करिब दुई सय घरले विद्युत् सेवा लिएको र तीमध्येका करिब एक सय घरको विद्युत्‌लाई क्षति भएको हुन सक्ने अनुमान छ। क्षतिको यकिन विवरण निकाल्नका लागि पर्वत विद्युत् प्राधिकरणले कर्मचारीको टोली खटाएको छ।

घटनामा परी ४० वर्षीय बुद्धिराम दर्जी, ३० वर्षीया टीका दर्जी, ४५ वर्षीय वीरबहादुर क्षेत्री, ३५ वर्षीया देवी क्षेत्री, २६ वर्षीया विनिता आचार्य, ५२ वर्षीय जयप्रसाद शर्मा, १६ वर्षीया सरिता क्षेत्री, ५२ वर्षीया सरस्वती आचार्य, १२ वर्षीया पूर्णिमा आचार्य, ६३ वर्षीया जगन गिरी र ३१ वर्षीया सरिता क्षेत्री घाइते भएका छन्। उनीहरूको हात, खुट्टा, गर्धन लगायतका शरीरका विभिन्न भागमा डढ्नुका साथै अन्य चोटपटक पनि लागेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!