पर्वत – गैरकानूनी रुपमा ग्रामीण क्षेत्रमा व्यापार व्यावसाय गर्दै हिडेका पोके तथा घुमुवा व्यापारीलाई नियन्त्रणमा लिन थालिएको छ ।
व्यवसाय गर्दा सम्बन्धित निकायमा दर्ता गरेर तोकिएको ठाउँमा मात्र गर्नु पर्ने भएपनि विना दर्ता र कर, विलविजक नै जारी समेत नगरी कपडा लगायत विभिन्न सामाग्री विक्रिका लागि पर्वतका गाउँ छिर्न लागेका ब्यापारीलाई नियन्त्रणमा लिईएको हो ।
पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपि अधिकारी सहितको टोलीले पछिल्ला केहि दिन यता सदरमुकामवाट गाउँ जान थालेका त्यस्ता पोके व्यापारीहरुलाई नियन्त्रणमा लिएर व्यापार गर्न रोक लगाएको छ । बुधवार विहान पनि ८ जना ब्यावसायीलाई नियन्त्रणमा लिई जिल्लावाट फर्काईदिएको संघले जनाएको छ । कुश्मा-ज्ञादी अग्लो झोलुङ्गे पुल पारी पुगेका ८ जना भारतीय नागरिकहरुलाई नियन्त्रणमा लिएर सम्झाईबुझाई गरी फकाईएको अध्यक्ष गोपि अधिकारीले जानकारी दिनुभयो ।

कानुन बिपरित पोके र घुमुवा व्यपारीका कारण राज्यलाई कर तिरी वैधानिक रुपमा सामाजिक उत्तरदायीत्व समेत बहन गर्दै आएका जिल्लाका हजारौ ब्यावसायीलाई असर परेको भन्दै नियन्त्रणमा लिईएको अधिकारीले जानकरी दिनुभयो । अनाधिकृत पोके ब्यवसायीलाई सम्वन्धित निकायमा व्यावसाय दर्ता गरी कानून बमोजिम संचालन गर्न समेत आग्रह गरिएको छ ।
यस्ता व्यावसायीहरुवाट जिल्लाको समग्र व्यापार व्यावसायमा प्रभाव पर्ने मात्र नभई ग्रामीण क्षेत्रमा सामाजिक अपराधका घटना समेत घटेकोले आवश्यक निगरानी गर्न प्रशासनलाई समेत अनुरोध गरिएको छ । पर्वतका ग्रामीण क्षेत्रमा भाडा, लत्ताकपडा, नक्कली गरगहना, कस्मेटिक सामान तथा विभिन्न औषधीहरुको घुमुवा व्यापार गर्नेको विगविगि रहेको छ । जिल्ला भर सयौँको संख्यामा व्यापारी यस्तो व्यापारमा लागेको देखिएपनि नियन्त्रणका लागि प्रभावकारी कदम भने चालिएको छैन । उनिहरु मौसम अनुसारका कपडा, भाडाकुडा, तथा अन्य बस्तुहरु घरघरमै लगेर विक्रि वितरण गर्ने हुँदा सदरमुकाममा चहलपहल समेत कम हुन थालेको छ ।
पोके व्यापारीले स्थानीय बजारमै सस्तो र गुणस्तरहीन सामान बेच्दा राज्यलाई वर्षैनी लाखौ रुपैयाँ कर गुमाउनु परेको भन्दै स्थानिय व्यापारीहरुकै आग्रहमा पोके व्यापारी समाउन थालिएको पर्वत उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ठाकुरवि पौडेल जानकारी दिनुभयो ।






