पर्वत- पर्वतको मोदी खोलामा निर्माणाधीन १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माणकार्य पुरा भएको छ । आयोजनाको सम्पुणर् काम पुरा भएर परिक्षण उत्पादनको तयारी शुरु भएको हो ।
मिडिल मोदी हाईड्रोपावर लिमिटेडले २०७१ सालको मंसिरमा सुरु गरेको आयोजना ८ वर्षको अवधिमा सम्पन्न भएको हो । करिब रु.चार अर्ब रूपैयाँको लगानीमा निर्माण भएको आयोजनावाट सोमवारदेखि परिक्षण उत्पादन शुरु गरिएको आयोजना प्रमुख प्रताप खरेलले जानकारी दिए । नेपाल विद्युत प्राधिकरणको टोलीले परिक्षण उत्पादन र प्रशारण लाईनमा जडान गर्ने कार्यको अध्ययन गरिरहेको खरेलले जानकारी दिए ।
निर्माण थालेको तीन वर्षमा नै काम पूरा गर्ने लक्ष्य राखिए पनि भुकम्प, नाकावन्दी, र कोभिड-१९को असरका कारण आयोजना पाँच वर्ष पछि धकेलिएको हो । आयोजना प्रमुख खरेलका अनुसार परिक्षण उत्पादन शुरु गरेपछि उत्पादित विद्युत १३२ केभि क्षमताको मोदी-लेखनाथ सबस्टेसन जडान गर्ने तयारी भैरहेको छ । १४ दिनसम्मको परिक्षण पछिमात्र केन्द्रीय प्रशारण लाईनमा जोडिने भएको छ ।
आयोजनाको ड्याम, टनेल, पावर हाउस, टावर निर्माणलाई आयोजनाका प्रमुख र जटिल कामका रूपमा लिने गरिन्छ ती सवै काम पुरा भएका छन् भने प्रशारण लाईन समेत निर्माण सकिएपछि परिक्षण उत्पादन थालिएको खरेलले बताए ।
शुरुवातमा रु.दुई अर्ब ८० करोड लागत लाग्ने अनुमान गरिएको आयोजनाको निर्माण चौधरी ग्रुपले गरेको हो । २०७१ सालमा ग्रुपका अध्यक्ष विनोद चौधरीले आयोजनाको शिलान्यास गरेका थिए । तीन वर्षमा नै निर्माणको काम सकेर २०७४ मंसिरमा काम पूरा गर्ने लक्ष्य राखिएको भए पनि प्रभावित क्षेत्रका नागरिकको पटक पटकको आन्दोलन र विरोध तथा प्राकृतिक विपद्का कारण आयोजनाको काम लम्बिएको आयोजना प्रमुख खरेलले जानकारी दिनुभयो । जसका कारण लागत समेत ह्वात्तै बढेको छ ।
२०७२ सालमा भूकम्पको मारमा परेको आयोजनाले बाढी र पहिरोको पनि उस्तै सामना गर्नुपरेको थियो । तर, पछिल्लो एक वर्षयता आयोजना निर्माण कार्यमा कुनै पनि पक्षबाट विरोध नभएका कारण कामले तीव्रता पाएको थियो ।
पर्वतको मोदी गाउँपालिका-२ केरुङ्गामामा पावर हाउस राखिएको आयोजनाको बाँध भने कास्कीको अन्नपूणर् गाउँपालिका-३ बिरेठाँटीमा रहेको छ । आयोजनाको २३ सय ९३ मिटर लामो सुरुङमा मोदी खोलाको पानी ल्याइने छ । निर्माण सुरु गर्ने बेलामा १५.१ मेगावाट क्षमतामा आयोजना सञ्चालन गर्ने भनिएको भए पनि निर्माण कार्य सँगसँगै क्षमता बढेर १८ मेगावाटमा पुगेको छ ।






