पर्वतको पाङमा अरिंगालको टोकाईबाट बाबुको मृत्युपछि ६ बालबालिकाको बिचल्ली - News site from Nepal

पर्वत – अरिंगालको टोकाईबाट बुबाको मृत्यु भएपछि यहाँको ६ बालबालिकाको बिचल्ली भएको छ ।
पर्वतको कुस्मा नगरपालिका-१, पाङ नेवारका ३५ वर्षीय श्रीराम परियारको मृत्यु भएपछि उनका परिवार बिचल्लीमा परेका हुन् । परियारको गएको साउन १२ गते अरिंगालको टोकाईवाट गम्भीर घाइते भएको अवस्थामा उपचारको क्रममा बागलुङ अस्पतालमा मृत्यु भएको थियो । अत्यन्त गरीब परिवारका परियारले ज्यालामजदुरी गरी परिवारको गुजारा चलाउने गर्नुहुन्थ्यो ।
आर्थिक आर्जनको रुपमा अरिंगालको गोला पोल्न जाँदा परियारको अनुहार, हात खुट्टा, ढाड, कान लगायत विभिन्न अङ्गमा टोकेर मृत्यु भएको स्थानीय यूवा गोकुल श्रेष्ठले जानकारी दिनुभयो । ‘बालबालिकाको बिचल्ली भएको छ,‘घरमा एक छाक पकाएर खाने अन्न पनि छैन’ श्रेष्ठले भन्नुभयो । मृतक परिवारका दुई श्रीमतीतर्फका २ छोरा र ४ छोरीको शिक्षादीक्षा सहित पालनपोषणमा आर्थिक अभाव भएपछि सहयोगको याचना गरिएको उहाँले बताउनुभयो । सवैजना १२ वर्ष मुनिका बालबालिका हुन् ।
कलिला छ जना छोराछोरी बुबाको मृत्युपछि भक्कानियर रुने गरेका छन्, भने मृतक परियारकी श्रीमति फुलमायाँ र नैनकलीको आँखा पनि अझै ओभाएका छैनन् । घरको पिँढीमा छोराछोरीसँगै बसेका श्रीमतीको आँखामा टिलपिल आँसु भरिएको देखिन्छ । घरपरिवारको अवस्था देखेर गाउँले र भेट्न जाने आफन्तको समेत आँखा झनै रसाउने गरेको छ ।
घरमा कमाउने कोही नहुँदा अहिले उनीहरूलाई बिहान-बेलुकीको छाक टार्न पनि मुस्किल परेको श्रीमती फुलमायाँले बताउनुभयो । उहाँले कमाउने मान्छे गएपछि छोराछोरीको चिन्ताले सताइरहेको बताउनुभयो । ‘बिहान बेलुका बालबच्चाको पेट कसरी भर्ने भन्ने चिन्ताले सताउँछ,‘शिक्षादिक्षा, पालनपोषण, घरखर्च चलाउने चिन्ताले पिरोलिरहेको छ’ फुलमायाँले भन्नुभयो ।’ ओड्ने-ओच्छ्याउने लुगा, अगेनामा पाक्ने खाद्यान्नसमेत नभएको अवस्थामा किरिया खर्च जुटाउनसमेत सहयोग माग्नु परेकाले भविष्यलाई सम्झिएर नैनकलीले किरियामै रुँदै सहयोगको याचना गर्नुभयो ।
स्थानीय पाङ यूवा क्लवले आर्थिक सहयोग अभियान समेत सञ्चालन गरिरहेको क्लवका अध्यक्ष जयराम सुबेदीले बताउनुभयो । उहाँले भत्किन लागेको टिनको छाप्रोमा बस्ने परियार परिवारलाई आर्थिक सहयोग आवश्यकता रहेकोे बताउनुभयो ।
आर्थिक अभावकै कारण गाउँकै सामुदायिक विद्यालयमा समेत नियमित पढ्न नपाइरहेको अवस्थामा शैक्षिक साम्रगी, पोशाक लगायत आवश्यक खर्च जुटाउन नसक्नेमा अब शिक्षा दीक्षाबाटै बन्चित बनाउनुपर्ने अवस्था आउन सक्ने स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2022 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!