पर्वतको बर्राचौरकी एक महिला एक हप्तादेखि सम्पर्कविहीन - News site from Nepal
पर्वतको बर्राचौरकी एक महिला एक हप्तादेखि सम्पर्कविहीन

पर्वत : जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरकी एक महिला एक हप्तादेखि सम्पर्क विहीन भएकी छिन्।
बर्राचौरको नौनादी घर भएकी २५ वर्षीया कमला भण्डारी गिरी गत साउन ११ गते खेतमा पानी लगाउन भनेर गएकोमा अहिलेसम्म पनि उनको अवस्थाको बारेमा पत्ता नलागेको नाताले ससुरा पर्ने श्यामलाल गिरीले जानकारी दिए। सासू, ससुरा, जेठाजु, जेठानी सहितको संयुक्त परिवारमा बस्दै आएकी गिरीको चार वर्षको छोरा पनि रहेका छन्।
उनको खोजीको लागि रानीपानी प्रहरी चौकीमा निवेदन दिएर प्रहरी र आफन्तले पनि खोजी गरिरहेको भए पनि उनको अवस्थाका बारेमा पत्ता लाग्न सकेको छैन। पारिवारिक सम्बन्धमा समस्या नरहेको तर मानसिक रूपमा केही अस्वस्थ रहँदै आएकी उनले औषधि सेवन गर्दै आइरहेको पनि श्यामलालले बताए।
माइत गएको हुन सक्ने अनुमानमा उनको माइती रहेको बागलुङको हुग्दीशिरमा सम्पर्क गर्दा उनी त्यहाँ पनि नगएको थाहा लागेपछि आफन्त र परिवारले उनको खोजीलाई तीव्र पारेका छन्। घरबाट निस्कने बेलामा उनले रातो टिसर्ट, कालो सुरूवाल र कालो सलको हुलियामा रहेकी उनको अवस्थाका बारेमा जानकारी पाएमा परिवार वा प्रहरीलाई खबर दिन उनको परिवारले अनुरोध गरेको छ।
खोजीका लागि प्रहरीमा निवेदन आएपछि प्रहरीका सबै युनिटहरूले उनको खोजीका काम गरिरहेको तर हालसम्म उनको बारेमा कुनै कुरा पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए।
श्यामलालका अनुसार कमलाका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहँदै आएका छन्। उनी बिदामा आएर कतार फर्किएको एक वर्ष भएको छ।

सघनन्यूज

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2022 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!