वर्षायाममा कालीगण्डकी नदि अबैध उत्खनन् गर्ने डोजर र स्काभेटरमा सिल - News site from Nepal

पर्वत – वर्षायामको समयमा पनि कालीगण्डकी नदि किनारवाट नदिजन्य बस्तु उत्खनन गर्न प्रयोग गरिएका स्काभेटर, डोजर र ट्याक्टर नियन्त्रमा लिई सिल गरिएको छ ।
जिल्ला अनुगमन समितिको टोलीले मंगलवार गरेको अनुगमनका क्रममा उत्खनन्का लागि नदि किनारमा राखिएका तीन वटा स्काभेटर, एक थान डोजर र एउटा ट्याक्टर सिल गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरीका अनुसार कुश्मा नगरपालिका वडा नं. १ स्थित राजाको बगरवाट एक/एक वटा स्काभेटर र डोजर,जलजला गाउँपालिका वडा नं. ८ खनियाघाटवाट एकवटा स्काभेटर, वडा नं. ८ लस्ती भन्ने स्थानबाट एउटा ट्र्याक्टर तथा पर्वत जलजला गाउँपालिका वडा नं. ४ लामाखेतबाट एउटा स्काभेटर नियन्त्रणमा लिई सिल गरिएको प्रहरी नायब उपरिक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।
वर्षायामको असार १५ गतेदेखि भदौ १५ गते सम्म नदि किनारवाट नदिजन्य बस्तु उत्खनन् गर्न नपाईने नियम भएपनि लुकिछिपि अवैध रुपमा उत्खनन् गरेको गुनासो आएपछि अनुगमन टोली पुगेको थियो । सिल गरिएका उपकरणहरु आवश्यक कानूनी कारबाहीपछि छाडिने प्रहरीले जनाएको छ ।
नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख बिष्णुराम बि.क, सह- संयोजक एवं प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, सदस्य सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बम, प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकी लगायत समितिको टोलीले कुश्मा नगरपालिका र जलजला गाउँपालिका अन्तर्गत कालीगण्डकी नदी किनारमा अनुगमन तथा निरीक्षण गरेको थियो ।
कालीगण्डकी नदिमा अवैध उत्खनन्का कारण पर्यावरणीय असर परेको भन्दै सर्वोच्च अदालतले समेत उत्खनन्मा रोक लगाएको छ । सर्वोच्चको आदेशपछि कुश्मा नगरपालिका र जलजला गाउँपालिको लगाउँदै आएको ठेक्का प्रकृया समेत रोकिएको छ । ठेक्का प्रकृया रोकिँदा दुई पालिकाको झण्डै रु.५ करोड आम्दानी गुमेको छ ।
स्थानीय जलजला गाउँपालिका र कुश्मा नगरपालिकाले समेत नदि किनारमा रहेका उपकरणहरु तत्काल हटाउन पटक पटक सूचना जारी गर्दा पनि मध्यरात र दिउँसोको समयमा समेत लुकिछिपि बालुवा, ढुंगा उत्खनन् गर्ने क्रम रोकिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!