पर्वत – पर्वतमा संचालित कुश्मा-बलेवा यान्त्रिक पुलले नियमित रुपमा राजश्व भुक्तानी गर्दै आएको स्पष्ट पारेको छ । हालै महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा यान्त्रिक पुलले कुश्मा नगरपालिकालाई कुनैपनि राजश्व भुक्तानी गरेको नदेखिएको उल्लेख गरेको थियो ।
उक्त विषयमा ध्यानाकर्षण गर्दै आफुले नगरपालिका, आन्तरिक राजश्व कार्यालय, कम्पनि रजिष्ट्रारको कार्यालयमा नियमित रुपमा लाग्ने शुल्क भुक्तान गरेको दावी गरेको छ । कुश्मा-बलेवा यान्त्रिक पुलद्धारा सोमवार पत्रकार सम्मेलन गर्दै कानून र ऐन नियमले तोके अनुसार सवै क्षेत्रमा अद्यावधिक गरेर यान्त्रिक पुल संचालन गरिएको जनाएको छ ।
कम्पनीका अध्यक्ष होमनारायण श्रेष्ठले नगरपालिकाले स्थानीय व्यावसायिक कर संकलन गर्न थालेपछि नगरपालिकामा दर्ता भएर नियमित रुपमा राजश्व भुक्तानी गर्दै आएको तर नगरपालिकाले महालेखालाई बुझाएको रिपोर्टमा उल्लेख नगर्दा समस्या भएको बताउनुभयो । उहाँले यो विषयमा नगरपालिकाले ध्यानाकर्षण समेत नगराएको बताउनुभयो । उहाँले अहिलेसम्म नियमित अद्यावधिक गरिएको र आगामी दिनमा पनि कम्पनी ऐन अनुसार अद्यावधिक गरिने बताउनुभयो ।
महालेखा परिक्षकको कार्यालयले यान्त्रिक पुलबाट यात्रु ओसारपोसार गर्दा शुल्क लिने गरेको भएपनि हालसम्म कर, राजश्व नबुझाएको उल्लेख गरेको थियो । २०६८ सालमा निर्माण सम्पन्न भएपछि संचालन हुँदै आएको उक्त यान्त्रिक पुलमा कुश्मादेखि बलेवा वार पार गर्दा यात्रुसँग शुल्क लिने गरेको भएता पनि हालसम्म राजश्व दाखिला गरेको नभेटिएको जनाएको थियो ।
यो पुल यात्रा गर्न र पर्यटकीय दृष्टिकोणले महत्वपुणर् मानिँदै आएको छ ।






