एकीकृत समाजवादीमा ३० सांसद र ६० केन्द्रीय सदस्यले सनाखत गरे - News site from Nepal

काठमाडौँ– नेकपा एमाले विभाजन गरेर नयाँ बन्न लागेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा साविकको एमालेका ६० जना केन्द्रीय सदस्य र ३० जना संघीय संसदका सांसदहरुले निर्वाचन आयोगमा सनाखत गरेका छन् ।
माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी नामको नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएपछि आयोगले बुधबार आयोगले सनाखत गराएको छ । सनाखतका क्रममा राष्ट्रिय सभा र प्रतिनिधि सभाका गरी ३० जना सांसदले सनाखत गरेको सांसद पार्वती विसुंखेले दावी गरिन् । उनका अनुसार ६० जना केन्द्रीय सदस्यले सनाखत गरेका छन् ।
राजनीतिक दल सम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गर्दै सरकारले संसदीय दल वा केन्द्रीय कमिटीमा कम्तिमा २० प्रतिशत संख्या पुर्याए दल विभाजन गर्न पाइने व्यवस्था गरिएपछि माधव समूहलाई एमाले विभाजन गर्न सहज भएको हो । निर्वाचन आयोगमा सनाखत भएको संख्या सांसदमा अपुग भए पनि केन्द्रीय सदस्यमा भने पुगेको छ । राष्ट्रिय सभामा ३३ र प्रतिनिधि सभामा १२१ गरी एमालेका १५४ सांसद थिए । त्यसको २० प्रतिशत पुर्याउन माधव समूहलाई ३१ जना आवश्यक थियो ।
तर ३० जनालेमात्र सनाखत गर्दा उसले संसदीय दलमा २० प्रतिशत पुर्याउन सकेन । यस्तै साविकको एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीमा २० प्रतिशत पुर्याउन ४१ जना आवश्यक पर्नेमा ६० जनाले सनाखत गरेकाले अब केन्द्रीय सदस्यको संख्याका आधारमा सो दलले वैधता पाउने देखिएको ।
सनाखत सकिएपछि आजै निर्वाचन आयोगले यो विषयमा केही निर्णय लिन सक्ने सम्भावना छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बेलुकासम्म कुनै निर्णय हुन सक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!