पर्वत- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा केपी शर्मा ओलीलाई सत्तामा बस्ने अधिकार नभएको बताएका छन् ।
पर्वत सदरमुकाम कुश्माबजारमा सोमवार प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पौडेलले संविधान, विधि र पद्धति बाहिर काम गर्ने प्रधानमन्त्री ओलीलाई सत्तामा राखिराख्न नहुने बताउँदै सत्ता बाहिरका सवै शक्ति मिलेर अविस्वासको प्रस्ताव लैजानुपर्ने बताए । उनले विधि र पद्धतिमाथिको प्रहारले लोकतन्त्रनै खतरामा पर्ने बताउँदै ओलीलाई सत्तामा टिकीरहन दिएर काँग्रेसले मौका गुमाएको बताए ।
उनले नेपाली काँग्रेसलाई सत्तामा जान भन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताए । प्रधानन्त्री ओलीले संविधान र संसदमाथि गरेको हमलाको सामना गर्नु काँग्रेको मुख्य दायित्व हुने बताए । बरिष्ठ नेता पौडेलले ओली सरकारलाई अविश्वासको प्रताव लगरे देशलाई संकटबाट बचाउनुपर्ने बताए ।
काँग्रेस दोस्रो पार्टी भएकाले आफुले प्रस्ताव नलैजाने तर अरु पार्टीले लगेमा काँग्रेसले साथ दिने पौडेलको भनाई छ । संविधानको हत्या गर्न खोज्ने केपी शर्मा ओलीको सरकारलाई हटाउने अभियानको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताउँदै पौडेलले नेपालको संविधानको हत्या गर्ने प्रधानमन्त्री ओलीसँग सहकार्य गर्नु लोकतन्त्र बिरोधीलाई समर्थन गर्नु भएको बताउँदै पौडेलले संसदमा पेश हुने अविश्वासको प्रस्तावमा कांग्रेसले कुनैपनि हालतमा साथ दिनुपर्ने बताए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हरेक गतिविधि लोकतन्त्र विरोधी र संविधानको रक्षाका लागि बाधक भएकाले बर्हिगमन अपरिहार्य भएको बताउँदै ओली एक दिन पनि सत्तामा बस्ने नैतिक आधार नभएको बताए । पौडेलले विकृत राजनीतिको अन्त्यका लागि कांग्रेसले अहिलेको अवस्थामा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकारका लागि पहल गर्नुपर्ने बताए । नेकपा भित्र विवाद भइरहेको अवस्थामा संसदमा अविश्वासको प्रस्ताव ल्याउने तयारीमा सहयोग नगरेर कांग्रेसले ठूलो अवसर गुमाएको समेत पौडेलको भनाई छ ।
पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई सत्ता र नियुक्तीमा प्रधानमन्त्री ओलीको प्रलोभनमा फस्ने खोजेजस्तो देखिएको बताउँदै वर्तमान सरकारलाई टिकाउनु लोकतन्त्रको आयु नै हटाउनु भएको बताए । कांग्रेस आन्तरिक किचलोमा फसेको बताउदै सबै मिलेर कांग्रेसलाई जनताको पहिलो पार्टी बनाउनु पर्ने उनको भनाई छ ।
प्रेस यूनियन पर्वतका अध्यक्ष माया अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न नेता तथा कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो ।